काठमाडौँ । २०८१ पुसदेखि २०८१ चैत मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाकाअनुसार २०८१ पुषदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार १६८ थान राहदानी जारी भएको छ ।
यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोली समेत खटाई राहदानीको सेवा प्रदान गरिएको उनको भनाइ छ ।
परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका उपाय प्रश्तुत गर्न समिति गठन गरिएको पनि जानकारी दिए । वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेश गर्नेगरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा एक समिति गठन गरिएको बताए ।
मन्त्री राणाले बढ्दो कार्यचाप, बदलिँदो भूराजनीति र कुटनीतिक परिवेशकाबीच परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भई मन्त्रालयमा सार्वजनिक कुटनीति, आर्थिक कुटनीति, श्रम आप्रवासन लगायतका नयाँ महाशाखाहरु सिर्जना गरिएको जानकारी दिइन् ।
मानिसहरू करोड तिरेर विदेश जान थालेः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री राणाले अहिले एक करोडसम्म लगानी गरेर मानिसहरु विदेश जाने गरेको बताएकी छन्।
शिक्षक भएको मान्छे पनि जागिर छाडेर विदेश जाने गरेको बताइन्।
‘हामी नेपालीहरु सिधा पनि हो, अनभिज्ञ पनि हुँदारहेछौँ। एक करोड तिरेर जाने मान्छे, एक करोड यहाँ लगानी गरेको भए त कति धेरै काम हुनसक्थ्यो,’ उनले भनिन्, ‘जसलाई जब चाहिएकै छ, हाम्रो अपेक्षा एकदमै हाई छ। यहाँ टिचर भएको मान्छे पनि जागिर छाडेर विदेश जाने तर्खरमा लाग्दैरहेछ। यसमा चाहीँ हामी सबै जनाले यहीँभित्र रोजगार सिर्जना गर्नुपर्छ भनेर अहिलेको सरकार लागेको छ।’
नेपालबाट गैरकानुनी रुपमा विदेश पुगेका खासगरी महिलाहरु एकदमै जोखिममा रहेको पनि उनले बताइन्। अहिले त्यस सम्बन्धमा मन्त्रालयले अध्ययन गरिरहेको बताउँदै उनले रिपोर्ट आएपछि आगामी नीति बनाइने सुनाइन्।
मान्छेले अवसरको खोजीमा विदेश जाने कुरा आफूहरुले रोक्न नसक्ने, तर जोखिममा रहेकाहरुको मामलामा भने एक्सन लिइने उनको भनाइ छ।