काठमाडौँ । पत्रकार महिलाको साझा संस्था नारी सञ्चार गृहले आफ्नो अक्षयकोषमा रु ५० लाख पुर्याएको छ ।
नारी सञ्चार गृह झापाद्वारा आज विर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यकममा अध्यक्ष रेजिना गौतमले सो जानकारी दिएकी हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताइन् ।
पूर्वराष्ट्रपतिले आमसञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आए पनि सङ्ख्यात्मक दृष्टिले महिलाको उपस्थिति अझै न्यून रहेको बताइन्। उनले समाचार सम्पादन, निर्णय र नीतिनिर्माणको तहमा महिलाको पहुँच र भूमिका सीमित रहेकामा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि यो सङ्ख्या न्यून रहेको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा नारी सञ्चार गृह झापाको अक्षयकोषमा सहयोग पुर्याउने दातालाई सम्मानपत्र प्रदान गरिन्।
साथै सो संस्थाद्वारा प्रकाशित ‘सञ्चारमा नारी’ पुस्तकको विमोचन समेत गरिन्।