सुवाश जिसी ##
चिनियाँ राष्ट्रपति सी जिन पिङको “द गभर्नेन्स अफ चाइना” किताबका संस्करण पढेपछि मलाई महसुस भयो– हामीले काम गरेकै छैनौँ । हामीले व्यवस्था परिवर्तन गऱ्यौँ । राणाशासन फाल्यौँ । राजतन्त्र फाल्यौं । देशमा गणतन्त्र आयो । जननिर्वाचित संस्थाबाट संविधान निर्माण भयो तर देशविकास, समृद्धि र जनताको अवस्थामा परिवर्तन भएन ।
वास्तवमा राजनैतिक परिवर्तनका आन्दोलनमा हाम्रो नेतृत्वले गरेको एउटा ठुलो कमजोरी हो– जनतालाई काममा लगाउने आह्वान । नेतृत्वले खालि एउटै कुरा मात्र गरिरह्यो, यो व्यवस्था फाल्यो भने परिवर्तन हुन्छ । नेतृत्वले भनेन, हामीले यो व्यवस्था फाल्नुपर्छ र कडा काम गर्नुपर्छ अर्थात् हामी अहिले पनि गरिब छौँ किनकि हामीले कामको अभियान चलाएका छैनौँ ।
चिनियाँ राष्ट्रपति सीका हरेक भाषणले जनतालाई काममा आउन अपिल गर्दछन् । उनले भन्छन्– “हामी चिनियाँ आज जुन स्थानमा छौँ, त्यो हाम्रो कठिन मिहिनेतको परिणाम हो । कडा मिहिनेत र कामप्रतिको हाम्रो समर्पणले नै हामीले चीनको नयाँ भविष्य कोर्न सक्नेछौँ । मैले तपाईंलाई धन्यवाद दिँदै चीनको खुसीको लागि काममा आउन अपिल गर्दछु ।” सीका यस्ता अपिल र उद्धरण हरेक सम्बोधनमा भेटिन्छन् ।
हाम्रो देशमा हाम्रो नेतृत्वले यसरी जनतालाई कहिल्यै अपिल गरेन । भन्यो– राणाशासन अन्त्य गरे देश विकास हुन्छ । राजतन्त्र फालेर गणतन्त्र ल्याए देश विकास हुन्छ तर कुनै पुरानो व्यवस्था फाल्दैमा र नयाँ व्यवस्था आउँदैमा देश विकास र समृद्धिमा जाने होइन । जनताको कडा मिहिनेत, परिश्रम र लगनले नै देशको विकास हुने हो । संसारमा कुनै पनि देश छैन, जुन देशका जनताले कडा मिहिनेत नगरेका होउन् र त्यो देशको विकास भएको होस् ।
युरोपले प्रथम विश्वयुद्धअघि नै धेरै कडा र कठिन काम गरेको थियो । दोस्रो विश्वयुद्धपछि अझ द्रुत गतिमा विकास र निर्माणका काम भए । हालका दुबई, कतार र मलेसियाले पनि विगत बिस, बाइस वर्षमा बालुवामा पसिना बगाएरै आजको स्थितिमा आएका हुन् । सबै विकसित देश पसिनाका परिणाम हुन् ।
राज्य वा सरकार भन्नु अभियान हो, जनपरिचालन अभियान, सचेतना अभियान । राज्यले पैसाको लगानी गरेर मात्र विकास सम्भव हुँदैन । त्यसरी विकास हुने पनि होइन । जनअभियान भएन भने जति नै पैसा खर्च गरे पनि केही हुने होइन; जस्तै : सरकारले सुर्तीजन्य पदार्थ र लागुपदार्थको विक्रीवितरणलाई खुला गरेको छ । उता, क्यान्सर रोगीलाई उपचारमा अनुदान दिन्छ । के उपचारमा सरकारले गरेको लगानीको कुनै औचित्य छ ? त्यसले राज्यको ढुकुटीको दुरुपयोग हुने मात्रै हो तर राज्यले लागुपदार्थ र सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि प्रत्यक्ष अभियान सञ्चालन गर्ने हो भने त्यसको सयौँ गुणा अर्थ, उपयोग र प्रभाव हुन्थ्यो ।
विद्यालय र कलेजको काम पनि काम नै सिकाउनु हो । विडम्बना झ् हाम्रो देशको पाठ्यक्रमले काम कहिँ कतै सिकाउँदैन । डिग्री सकिसक्यो– सिप भन्ने कुरा केही हुँदैन । साधारण सिप पनि हुँदैन । बत्तीमा फ्युज गयो, फ्युज राख्न सक्दैन । सामान्य, साधारण र दैनिक जीवनमा आवश्यक अनिवार्य ज्ञान पनि हामीले सिकेको हुँदैनौँ किनकि हाम्रो पाठ्यक्रमको प्राथमिकतामा सिप र काम छैन । घोकन्ते र अव्यावहारिक ज्ञानले जीवन चल्दैन । जीवन चल्न सिप र परिश्रम नै अनिवार्य छ ।
म जर्मनीको एउटा आधारभूत विद्यालयमा गएको थिएँ । मैले त्यहाँ हाम्रा कक्षाकोठाजस्तो डेस्क, बेन्च, बोर्ड, मार्कर, अगाडि बसेका विद्यार्थी र पढाइरहेका मास्टर कतै देखिनँ । हरेक कक्षाकोठा मोटरसाइकलका ग्यारेजजस्ता । फोहोर होइन, सिप सिकाउन राखिएका सामानले भरिएका । विद्यार्थीहरू केही न केही जोड्दैछन्, बनाउँदैछन् अर्थात सिप सिक्दैछन् । त्यहाँ अनिवार्य विषय छैनन् । पास गर्नुपर्ने कुनै परीक्षा हुँदैन । प्रयोगात्मक र व्यावहारिक ज्ञान दिइन्छ । एउटा लेभल सिद्धियो भने जुनसुकै दिन, महिना अर्को कक्षा चढ्ने व्यवस्था छ । हामीलाई यी कुरा कल्पनाजस्तो लाग्छ ।
हामीसँग न त त्यस्तो पाठ्यक्रम छ, न सिकाउनेमा त्यस प्रकारको जाँगर नै । म धेरै विद्यालयमा जान्छु । शिक्षकले पढाएको हेर्छु । अधिकांश शिक्षकले पाठ्यपुस्तकमा लेखेको लाइन/बाइलाइन पढेर जुग बिताउनुहुन्छ, किताबको सस्वर वाचन गरेर । कक्षा १ देखि डिग्रीसम्म नै, वैशाखदेखि चैतसम्म पाठ पढेकोपढ्यै । उही बेन्च, उही डेस्क, उही अनुहार, उहीँ विधि, उही पद्धति । यस्तो पट्यारलाग्दो कामको निरन्तरतालाई भङ्ग गर्ने शिक्षक र विद्यालयको सङ्ख्या हजारमा एक पनि मुस्किल छ ।
विज्ञान शिक्षकले तोरीपाठ पढाउँदै हुनुहुन्छ । विद्यालयबाहिर तोरिबारी छ । एउटा बोट गोडेर कक्षाकोठामा लैजानुहुन्न । सामाजिक विषयमा कति धेरै पाठ हुन्छन्/छन् । एक दिन गाउँपालिकाको भवनमा लगेर त्यहाँका पदाधिकारी, शाखा र तिनीहरूले गर्ने कामको व्याख्या गरिदिने हो भने कैयौँ पिरियड खर्च गर्नुपर्ने पाठ विद्यार्थीले एकैदिनमा जीवनभर नभुल्ने गरी बुझ्छन् तर एक जना सामाजिक शिक्षकले विद्यार्थी कोठाबाट बाहिर निकालेको देखिँदैन । जुनकुनै विषयको शिक्षकले विद्यार्थीलाई कोठाबाट बाहिर ननिकालेसम्म विद्यार्थीले सिक्ने कुराको सम्भावना अत्यन्तै न्यून हुन्छ ।
आजभन्दा तिस वर्षअघि हाम्रो सोच्ने तरिका, हाम्रो जीवनशैली र पद्धतिजस्तो थियो, अहिले स्थिति त्योभन्दा कैयौँ फरक भइसक्यो तर हाम्रो पठनपाठन गराउने तरिका, शैली र विधि उही छ । यति लामो समयको कुरा नगरौँ, विगत दश वर्षअघिको विद्यार्थी र अहिलेको विद्यार्थीमै धेरै फरक छ । शिक्षकले जे गर्दा हिँजो विद्यार्थी मोटिभेट हुन्थ्यो, कन्भिन्स हुन्थ्यो, पढ्थ्यो, आज त्यो हुँदैन/छैन । अब विद्यार्थीलाई शिक्षकले हिजोको तहमा लैजान्छु भनेर सम्भव छैन बरु शिक्षकले आजको परिस्थिति बुझ्नुपर्छ, आफू नै परिवर्तन हुनुपर्छ र आजको विद्यार्थीको स्थितिअनुसार पठनपाठनको पद्धतिलाई अगाडि बढाउनुपर्छ । हाम्रा सीमित स्रोत र साधनका बाबजुद पनि आजको विद्यार्थीको मनस्थितिअनुकूलको शिक्षण गर्न प्रयत्न गर्नुपर्दछ ।
हाम्रो खाँचो राजनैतिक पार्टीको कार्यक्रममा सुधारको छ । पार्टीको नीति र भाषणमा परिवर्तन हुन जरुरी छ । त्यसरी नै देशको पाठ्यक्रम र कक्षाकोठामा सुधार हुन आवश्यक छ । काम र जीवनलाई प्राथमिकता नदिने शिक्षाको अब कुनै भ्यालु छैन । हामीले हाम्रो देशको भविष्य हाम्रो काममा देख्न सक्नुपर्छ र विद्यार्थीलाई तिनीहरूको भविष्य पनि काममा देखाउन सक्नुपर्छ । राज्य, सरकारले पाठ्यक्रमलाई व्यावहारिक र कामकाजी बनाउनुपर्दछ भने विद्यालय र शिक्षकले पनि विद्यार्थीलाई जीवन दिने काममा समर्पित गर्नुपर्दछ ।
हाम्रा सीमित स्रोतसाधनका बाबजुद पनि आजको विद्यार्थीको मनस्थितिअनुकूलको शिक्षण गर्न प्रयत्न गर्नुपर्दछ । हाम्रो खाँचो राजनैतिक पार्टीका कार्यक्रममा सुधारको छ । पार्टीका नीति र भाषणमा परिवर्तन हुन जरुरी छ । त्यसरी नै देशको पाठ्यक्रम र कक्षाकोठामा सुधार हुन आवश्यक छ । काम र जीवनलाई प्राथमिकता नदिने शिक्षाको अब कुनै भ्यालु छैन । हामीले हाम्रो देशको भविष्य हाम्रो काममा देख्न सक्नुपर्छ र विद्यार्थीलाई तिनीहरूको भविष्य पनि काममा देखाउन सक्नुपर्छ । राज्य, सरकारले पाठ्यक्रमलाई व्यावहारिक र कामकाजी बनाउनुपर्दछ भने विद्यालय र शिक्षकले पनि विद्यार्थीलाई जीवन दिने काममा समर्पित गर्नुपर्दछ ।