तेजेन्द्र क्षेत्री ##
एनआरएन जापानको सदस्यता अभियानको गरमागर्मी सामाजिक सञ्जालमा व्यापक भइरहेको सन्दर्भमा फेसबुकका केही पोस्टमा देखिँदै थिए । सदस्यता लिएका केही तस्बिर पनि बाक्लै आए । त्यसैगरी एनआरएन जापानका अध्यक्ष नवीन निउरेले युट्युबमा राम्रो पोस्ट मिडियामा नेपाल हाउस निर्माणका लागि ग्राउन्ड फन्डिङमार्फत आर्थिक सहयोगको अनुरोध गर्नुभएको छ । खुसी पनि लाग्यो ।
यससँगै केही एनआरएन अभियन्ताले नेपालघर निर्माणका लागि एनआरएनको सदस्यता लिनुस् भनेर अनुरोध पनि गर्नुभएको छ । कहिँ कतै त एनआरएनबाहेक बाँकी संसार नै छैन कि नेपाल हाउस बनाउन अनिवार्य एनआरएन सदस्यता लिनैपर्छ भन्ने गरी अभियन्ता पेस भएका छन ।
यसैबिच केही फरक एनआरएन अभियन्ता नरेन्द्र बस्नेतले आफ्नो वालमा यस्तो पोस्ट राख्नुभएको छ– ‘ए साँच्ची, ऐले एनआरएनए जापानको चुनावी गर्मी बढेका बेला अलिक अगाडि एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घलेज्यू भन्दा पनि सिनियर हुँ भन्दै सञ्जालमा रोइला गर्ने अभियन्ता पनि उम्मेदवार होलान कि के होला ? भनेर सोध्ने भाइलाई के उत्तर दिने होला ?
कमेन्टमा तपाईं उम्मेदवार नहुने र भन्ने प्रतिकृयामा उहाँ यस्तो जवाफ छ– “पदमा भए पनि/नभए पनि सदैव एकैनासले खटिरहेका मानिसहरू पदमा आउदाखेरी पदप्राप्ति गरेर दुई वर्षसम्म सुत्ने अनि चुनाबको बेला नयाँ या पुरानै नारा लिएर उठ्नेलाई अन्याय होला फेरि । अरू त त्यस्तै उस्तै हो भाइ ।”
पोस्टजस्तो मनसायले गरे पनि के स्पस्ट छ भने एनआरएनमा व्यापक विवाद तीव्र असन्तुष्टि र ढोङको स्वार्थी राजनीतिक पक्ष बलियो छ ।
सञ्जालमा यी सबै यस्तै पोस्ट र रमाइला प्रतिक्रियासँगै एनआरएनको गर्मी हेर्दै जाँदा अर्को एउटा पक्ष देखियो ।
रेनु गुरुङको, जो रक्तिम सांस्कृतिक अभियान जापानका केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँले लेख्नुभयो– “दुनियाँ कस्तो देखिन्छ भन्ने कुरा चाहिँ हामीले कहाँ बसेर दुनियाँलाई हेरिरहेका छौं भन्ने कुरामा भर पर्छ । दुनियाँ जस्तो हुनुपर्ने हो, त्यस्तै छ । हामीले दुनियाँलाई हेर्ने दृष्टिकोण बदल्यौँ भने दृश्य अर्कै देखिन्छ ।” यो पोस्टले केही लेख्ने उत्प्रेरणा जगायो ।
वास्तवमा पुँजीवादी व्यवस्थाभित्र मान्छेका भावना, उत्तेजनालाई, माया र तिरस्कारलाई समेत बिक्री गरेर नाफा हासिल गरिन्छ र नाफाको चाङमा उभिएर तल्लो वर्गलाई दलिन्छ भन्ने कुरा यो गरम बहसले सृजना गरेका तरङ्गले स्पष्ट पारेका छन् । नोस्टाल्जियाको व्यापार र मन्दविष असर उस्तै छन् । को कति बेला सचेत हुन्छ भन्ने कुराले जीवनको वास्तविकता र दुरी निर्धारण गर्छ ।
नोस्टाल्जिया एक प्रकारको मिठो दुःख हो, जसमा व्यक्ति आफ्ना पुराना स्मरण, अनुभूति वा स्थानप्रति आकर्षित हुन्छ । यसले प्रायः वाल्यकाल, परिवार, साथी वा ऐतिहासिक घटनासँग जोडिएका भावना जगाउँछ । मनोवैज्ञानिक रूपमा सकारात्मक पनि हुन सक्छ किनभने यसले आत्मपहिचान र आशावादलाई बढाउँछ† जस्तै : पुरानो गीत सुनेर आउने वाल्यकालको सम्झना । आफ्नो जन्मस्थान वा बुबाआमासँग बिताएका पलको स्मरण । विद्यार्थी जीवनका रमाइला अनुभूति सम्झिँदा मनमा उठ्ने भावना आदि । नोस्टाल्जियामा हाँसो र आँसु दुवै मिसिएको अनुभव सँगै छ । यो मानिसलाई अतीतसँग जोड्ने एउटा शक्तिशाली भावनात्मक अनुभूति हो ।
डायस्पोरा भनेको मूल रूपमा कुनै एक विशेष समुदाय, जाति, धर्म वा राष्ट्रका मानिसको विश्वभर फैलिएको समुदाय हो । यसले विशेष गरी ऐतिहासिक, सामाजिक वा राजनीतिक कारणले आफ्नो मातृभूमि छोडेर अन्य देशमा बसोबास गर्ने समूहलाई जनाउँछ । यी मानिसले आफ्नो मूल संस्कृति, परम्परा र पहिचानलाई नयाँ ठाउँमा पनि कायम राख्छन् । यहुदी, अफ्रिकाबाट मुख्यगरी अमेरिका र युरोप लगिएका कालाजाति आदि डायस्पोराका प्रमुख उदाहरण हुन ।
एक्काइसौँ शताब्दीको यो अवधितिर पुग्दा नेपाली डायस्पोरा पनि संसारको प्रमुख समूह हुन पुगेको अवस्था छ । आजको यो अक्षरको समूहमा यहि विषयमा खास चर्चा हुनेछ । नेपाली डायस्पोराको नोस्टाल्जिया प्रयोग र दुरुपयोग के हो ? नेपाली डायस्पोराले पनि नेपालको अर्थतन्त्र र संस्कृतिमा ठुलो योगदान पुऱ्याएको त छ नै तर यसभित्रका वास्तविकता र आधार केलाउन कही पक्ष हेर्न जरुरी छ ।
वैचारिक प्रवर्ग ॅभ्रम र वास्तविकता’ ले के कुरामा प्रश्न गर्न जोड दिन्छ भने के आम सामाजिक सञ्जालमा देखिएका जीवनका तस्बिर नै मूल सत्य हुन त ? त्यसका पछाडिका कथा व्यथाले जीवनका पाइलापाइलामा कसरी हुडली खेलिरहेका छन् ? त्यो विराट हुडलीभित्र सामाजिक अभियन्ताले के पकाइरहेका छन् ? के पस्किरहेका छन् भन्ने विषयलाई जान्न प्रोत्साहन गर्छ । डायस्पोराको नोस्टाल्जिक सम्बन्ध थाहा पाउन र हाम्रा मनका अन्तरकुन्तरमा रहेका अन्धविश्वाससँग अन्तरक्रिया गर्न यो प्रवर्गले मदत गर्छ । एकातिर वास्तविकतालाई आदर्श मानेर गाउँको गरिबी र अभावलाई बिर्सेर केवल राम्रा सम्झनामा मात्र ध्यान दिने, अर्कोतिर, विदेशी समाजमा मिल्न असजिलो भए पनि घर फर्कने सपनाले वर्तमानलाई नकार्ने नकारात्मक भावबाट प्रभावित हुने दुविधाबाट बाहिर निस्कन पनि कहिँ कतै मदत गर्छ । त्यसैले वास्तविकता त्यो सत्य हो, जसले जीवनको अन्तिम सत्यसम्म पुऱ्याउँछ ।
खाडीमा काम गर्ने नेपालीले गाउँको चिया र भात सम्झने, सम्पूर्ण समुदायले साझा संस्कृति, भाषा, चाडपर्वप्रति आकर्षित हुने, अमेरिकामा युरोप बस्ने नेपालीले दशैँमा सामूहिक रूपमा घर सम्झने । कसैमा मातृभूमिको अघिल्लो राजनीतिक व्यवस्थाप्रति इच्छा रहने । जापान बस्ने नेपालीमा पनि आफ्नो चाडपर्व र संस्कारको हुटहुटी अत्यधिक भएकैले हो करिब ४७ ओटै प्रिफेक्चरमा वर्षैपिच्छे नेपाल फेस्टिभल हुन सक्ने अवस्था छ र भइरहेका छन् । केही प्रवासी नेपालीले राजा र राजतन्त्रकालीन व्यवस्था सम्झिने कसैले अहिलेका राजनैतिक व्यवस्था ल्याउन गरेका योगदान सम्झिने आदि प्रकारले वास्तविकताभन्दा रोमान्टिक प्रकारका नोस्टाल्जियाका प्रशस्त उदाहरण देख्न र राख्न सकिन्छ ।
नोस्टाल्जियाको राजनैतिक प्रभाव भनेको के हो भने अतीतको राजनीतिक व्यवस्था, नेतृत्व वा सामाजिक–आर्थिक अवस्थाप्रति गहिरो भावनात्मक आकर्षण र पुनरुत्थानको इच्छा । यसले विशेष गरी हालको व्यवस्थाबाट असन्तुष्ट व्यक्तिमा अघिल्लो समयका सुनौला दिनको रोमान्टिक सम्झनालाई जनाउँछ । नेपालको सन्दर्भमा यसको प्रमुख उदाहरण राजतन्त्र वा पञ्चायतकालप्रतिको नोस्टाल्जिया हो ।
बहुदलपछि गठन भएका विभिन्न दलका विदेशस्थित भ्रातृ सङ्गठन पनि करिब यही वर्गमा पर्ने अनुमान मात्र नभएर ठोकुवा गर्न सकिन्छ किनभने ती कार्यकर्ता र सदस्यमा पनि अतीतका धङधङी र वर्तमानका ढोङ अत्यधिक मात्रामा पाइन्छन् । यसका गलत प्रभाव नेपाली डायस्पोराले दिनदिनै व्यहोर्नुपरेको छ ।
नेपाली डायस्पोरामा नोस्टाल्जिया राजनैतिक प्रभावको प्रमुख र गलत प्रकोपको उपज आजको एनआरएन हो । केही अभियन्तामार्फत जापानमा “नेपालघर” निर्माण सहयोगका लागि एनआरएनको सदस्य बन्नुस् भनेर व्यापक प्रचार गरिएको छ । प्रश्न के हो भने के एनआरएनको सदस्य नबनी नेपालघर बनाउने कार्यका लागि सहयोग गर्न सकिन्न र ? मिल्दैन र ? नेपालको संस्कार संस्कृतिलाई संसारभरि प्रचार गर्ने र नेपालमा पर्यटक भित्राउने सपनासमेत यससँग जोडिएको छ ।
वास्तविकता के हो भने गैरआवासीय नेपाली सङ्घ (एनआरएन) शब्द, उद्देश्य, क्रियाकलाप र एकदुई छोडेर धेरै अभियन्ताको आचरणलाई ठिकसँग नियाल्ने हो भने अन्त्यमा नेपालीको अतीतसँग जोडिएको भावनालाई च्यापेर गरिने व्यापारबाहेक केही छैन । विशुद्ध रूपमा भावनाको कालोबजारी हो । हैन भने नेपालकै राजनैतिक दलको लाइनमा लागेर प्यानल खडा गरेर चुनावको तयारी किन भइरहेका छन् ? राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचारमा किटान गरेर छापिएका श्रमिकको दलाली गर्ने, हुन्डीखोरी गर्ने, कालाबजारी गर्नेहरूले मञ्चमा उभिएर खादामाला गुथेर समाजसेवीको पदवी पहिरिने वातावरण कसरी तयार भएको छ ?
एउटै छातामुनि एउटै नामका र समान उद्देश्य बोकेका भनिएका समानान्तर सङ्गठन किन आवश्यक भएका हुन ? के कुनै कुराको जिम्मेवार उत्तर नखोजीकन मञ्चमा बसेर खाँदा र माला पहिरिएपछि सारा नेपाली एक भए त ? नत्र अनेक हो ? नेपाली नागरिकता पासपोर्ट बोकेका र त्यागेकाका भावना उत्तेजना समान भए पनि उद्देश्य, अधिकार, आवश्यकता फरक छैनन् ? तिनको सम्बोधन गर्ने निकाय र तरिका अलग हैनन् ?
आज पनि सदस्यता वितरण र प्राप्तिको भुमरीमा कैयौँ मान्छे परेका छन । भन्न त राजीखुसीले, कसैको करकापबिना भनिएको छ तर यहाँ कोही मजदुरको साहु त्यो संस्थामा लागेको र सम्भावित उम्मेदवार भएकाले, कसैको बच्चैदेखिको साथी त्यहाँ लागेको र हार्न नसकेकाले धेरै प्रकारका अप्रत्यक्ष दबाब एक तहका मान्छेले खेपिरहेका छन् । कतिसम्म भएका छन् भने अभियन्ताले सदस्यता नलिएकै कारण देखाएर सरल बाटोमा अनावश्यक झमेला खडा गरिदिएकासमेत छन् । मान्छेको न्यून चेतनालाई उपयोग गरेर गरिएका जबरजस्ती कुनै कालमा राज्यले पुलिस र लाठी लगाएर गर्ने बर्बर दमनभन्दा धेरै दुःखदायी छन् ।
वास्तविकतालाई रोमाञ्चक बनाएर भ्रमको सञ्चार नगर्ने, कल्पनाको लड्डु खाएर भ्रममा बाँचिरहेको म र हामीजस्ता मान्छेलाई थप भ्रमको पासोमा मोलेर नुनखुर्सानीसमेत दलेर पोल्नेभन्दा सरल बाटामा हिँड्न दिनुस् । नेपालघरलाई वास्तविक नेपालघरको रूपमा देख्न र उपयोग गर्न मन छ । आवश्यक र गच्छेअनुसारको सहयोग म पनि गर्छु† गर्न तयार छु तर त्यसका लागि एनआरएनको सदस्य लिनपर्ने बाध्यता नथपिदिनुहुन अनुरोध छ ।