समीर सिंह ##
उनी कति बेला उठ्छिन् ? कति बेला सुत्छिन् ? थाहा नै पाउँदैनँ । धेरैजसो समय उनी फोनमा कुरा गरिरहेकी हुन्छिन् ।
‘यति धेरै फोनमा कुरा गर्दा थाकिन्न ?’ मैले प्रश्न गर्ने गर्छु ।
उनको जवाफ हुने गर्दछ– ‘शरीरमा पीडा हुँदा पनि कसैसँग कुरा गर्दा आनन्दित भइरहेको हुन्छु ।’
केही दिनपहिले उनको कलेजो तथा फोक्सोको बायोप्सी भएको थियो । त्यसको पीडाले पनि होला, उनलाई शारीरिक रूपमा एकदम पीडा भइरहेको हुन्छ । त्यसका साथै उनलाई हर्मोन र टार्गेटथेरापी पनि चलिरहेको छ । त्यसको असरले पनि होला, उनलाई शारीरिक रूपमा एकदम गाह्रो भइरहेको हुन्छ । पीडाले गर्दा निद्रा लाग्दैन, केही खायो कि उल्टी भइहाल्छ । केही कुरा निल्नै सक्दैनन् । शारीरिक रूपमा यति धेरै गाह्रो हुँदा, कुनै अन्य सर्भाइभर्सलाई गाह्रो भयो भनेर फोन आउँदा उनी मनोपरामर्श गर्न थालिहाल्छिन् । दिनभरि थुप्रै क्यान्सर सभाइभर्स को फोन आइरहेको हुन्छ । उनीहरूलाई सकारात्मक रूपमा काउन्सिलिङ गर्न उनी व्यस्त भइरहन्छिन् ।

बिनुले क्यान्सर योद्धाको रूपमा सङ्घर्ष गर्न थालेको १८ वर्ष भयो । शरीरको शल्यक्रिया नगरेको कुनै अङ्ग छैन होला । अहिलेसम्म १४ पटक उनको विभिन्न प्रकारले शल्यक्रिया भइसक्यो । कहिल्यै स्तनमा, कहिले काखीमा, कहिले कलेजोमा, कहिले फोक्सोमा उनलाई क्यान्सरले आक्रमण गरिरहेको हुन्छ । हातबाट रगत निकाल्न मिल्दैन, खुट्टाबाट रगत निकाल्नुपर्ने हुन्छ । त्यसरी रगत निकाल्दा यति धेरै पीडा हुन्छ कि अस्पताल नै थर्किन्छ । यति धेरै पीडा तथा आक्रमण हुँदा पनि उनको अनुहारमा थकान म कहिले देख्दिनँ । उनलाई सबैभन्दा मन नपर्ने भनेकै ‘कमजोर भयौ’, ‘सक्दैनौँ’, ‘बिचरा’ जस्ता शब्द हुन् । ‘तिमीलाई गाह्रो भएको छ’, ‘यसो नगर’, ‘यता नजाऊ’ भन्दा उनलाई सबैभन्दा बढी रिस उठ्छ । ‘म किन नसक्ने ?’ ‘मलाई के भएको छ ?’ यस प्रकारका प्रश्न गर्ने गर्छिन् र जस्तोसुकै अप्ठ्यारो काम गर्न पनि अगाडि बढिहाल्छिन् ।
उनको उमेरले पनि ५० वर्ष काटिसक्यो तर उनको अनुहार कतै पनि चाउरी परेकोजस्तो देखिन्न । शरीरमा थकान कति पनि देखिन्न । क्यान्सर सभाइभर्ससँग सहयात्री बन्दै विभिन्न कार्यक्रम गरिरहँदा उत्साहित भइरहेकी हुन्छिन् ।

जेठ १८ गते राष्ट्रिय सर्भाइभर्स दिवसको तयारीमा केही दिनदेखि उनी व्यस्त थिइन् । सबै सर्भाइभर्ससँग सम्पर्क गर्दा सबै जना उपस्थित हुने कुरा आइरहेको थियो अनि मलाई सुनाउने गर्थिन्– ‘कार्यक्रममा ७५ जनाको उपस्थिति हुने भयो नि ।’ त्यति धेरै सभाइभर्सको उपस्थित हुने कुरा निश्चित हुँदा उनको अनुहारमा एकदमै चमक आइरहेको थियो । प्रेसविज्ञप्ति तयार पार्न मैले सघाइरहेको थिएँ । उनी सबै मिडियाकर्मीलाई सम्पर्क गरिरहेकी थिइन । १७ गते राती म त सुतिहालेँ तर उनी रातीसम्म पनि त्यो कार्यक्रमको तयारीको लागि फोनमै व्यस्त थिइन । शरीरमा पीडा भएर पटक पटक बान्ता गरिरहेकी थिइन । शरीर दुखेर छट्पटाइरहेकी हुन्थिन तर फेरि एक छिनमा आफ्नो काममा लागिहाल्थिन् ।
निरू दिदीले थाहा पाउनुहुन्छ कि भनेर बिस्तारै बाथरुम जान्थिन् । दिदीबहिनीको यति धेरै माया कि कसैलाई पनि एकअर्काको पीडा देख्नै नहुने । बिनुमा कसरी यति धेरै शक्ति आएको होला ? म सोच्नै सकिरहेको हुँदैन ।
जेठ १८ गते बिहानैदेखि प्रमिता तथा पूजा दिज्यू तथा प्रमिलाको फोन आइरहेको थियो– ‘तिमीले आफ्नो जिम्मेवारी पूरा गरिहाल्यौ । तिमीलाई गाह्रो भएको छ । कार्यक्रममा आउनैपर्छ भन्ने छैन’ तर बिनु कहाँ मान्नेवाली थिइन र ? अन्ततः बिहानै १० बजे मध्यबानेश्वरको सनराइज क्याफे उनी पुगिहालिन् ।
म अलि ढिलो पुगेँ । म त्यहाँ पुग्दा, उनी सबैसँग खुसी हुँदै अँगालो मार्दै रमाइरहेकी थिइन् । कुनै मिडियालाई अन्तर्वार्ता दिइरहेकी थिइन् । उनको आत्मविश्वासमा कहीँ पनि कमी थिएन । थुप्रै सर्भाइभर्स र मिडियाकर्मीको उपस्थिति थियो । निकास (नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी) का सदस्यहरू प्रमिता खनाल, पूजा कुँवर, प्रमिला केसी, सुस्मिता पोख्रेललगायत सबै कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । सबै सभाइभर्समा एकदमै हार्दिकता थियो । सबैको पीडा र कथा एउटै थियो । आआफ्ना पीडा र कथा साटासाट गरिरहेको अवस्था थियो । एउटा ठुलै युद्ध जितेर विजेताको रूपमा वर्षको एकपटक मनाइने सभाइभर्स डेमा उहाँहरूको उपस्थिति भइरहेको थियो ।
सर्भाइभर्स दिवसमा उपस्थित सबै क्यान्सर योद्धाको आआफ्नो कथा थियो । सबैको साहसिक कथाका बारेमा लेख्न थाल्ने हो भने एउटा प्रेरणादायी पुस्तक नै बन्छ होला ।
कार्यक्रममा झापा कन्काई निवासी नमिता बस्नेतलाई सम्मानित गरिएको थियो । विगत ५ वर्षदेखि उनी घाँटीको क्यान्सरबाट सङ्घर्ष गरिरहेकी छिन् । त्यस प्रकारको भयानक रोगले आक्रमण गर्दा पनि उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १४ दिनको समय लगाएर साइकलयात्रा सम्पन्न गरिन् । गत वर्षको चैत ३० गते झापाको मेची पुलबाट साइकल यात्रा सुरु गरेर यो वर्षको १२ गते महाकाली पुगेर आफ्नो साइकलयात्रा सम्पन्न गरेकी थिइन । ‘रोग लागेपछि कमजोर भइन्छ, केही गर्न सकिँदैन’ भन्ने नकारात्मक सोचाइलाई उनले गलत प्रमाणित गरेकी थिइन । उनको त्यस प्रकारको हिम्मत र साहसलाई प्रोत्साहित गर्नुपर्दछ भन्ने मान्यताका साथ निकासले उनलाई सम्मानित गरेको थियो । क्यान्सर सर्भाइभर्स तथा गायिका मीरा राणाको हातबाट उनलाई सम्मानित गरिएको थियो ।

सभाइभर्स दिवसको अवसरमा सबैले आआफ्नो प्रतिभा प्रस्तुत गरिरहेका थिए । बिनुले पनि आफ्नो कविता प्रस्तुत गरिन । रातभरि गाह्रो भएकाले कार्यक्रम सकेर हरिसिद्धिस्थित क्यान्सर अस्पताल जाने सल्लाह थियो । त्यहीअनुसार म त्यहाँ पुगेको थिएँ । कार्यक्रम सकियो अब अस्पताल जाऊँ भन्दा त म सन्चो भइसके भन्न थालिन । सबै सहयात्री योद्धासँग दिनभरि रमाइलो गर्दा, कार्यक्रममा व्यस्त हुँदा उनको पीडा, थकान त कता हरायो, थाहा नै भएन ।
आफ्नो पीडाको मात्रै सोच्ने, स्वार्थी भावना बढ्दै जाने, केही गाह्रो भयो भने कोठाभित्र गुम्सिएर बस्ने, म कमजोर भएँ, मेरो जीवन बर्बाद भयो, अब म केही गर्न सक्दैन भन्ने गरेको पाइन्छ । यस प्रकारका नकारात्मक सोचाइले पनि मानिसलाई झनै कमजोर बनाइरहेको हुन्छ । मानिसलाई लाग्ने रोगले केही कमजोर बनाउँछ होला त्योभन्दा बढी मानिसभित्रका नकारात्मक सोचाइले उनीहरूलाई कमजोर बनाइरहेको हुन्छ । यस प्रकारका नकारात्मक सोचाइले मानिसले आफ्नो जीवनमा, परिवारमा, समाजमा तथा देशमा पनि केही गर्न सकिरहेको हुँदैन । यस प्रकारका नकारात्मक सोचाइको सन्दर्भमा पनि क्यान्सर योद्धाका सङ्घर्षका कथाबाट थुप्रै कुरा सिक्न सकिन्छ ।
एउटा क्यान्सर योद्धाको सहयात्री हुन पाउँदा पनि मैले थुप्रै कुरा सिक्न पाएको छु र फेरि पनि थुप्रै कुरा सिक्दै जाने नै छु ।
