काठमाडौँ । विश्व हिन्दू महासंघ, नेपालले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका नाती ह्रदयेन्द्र शाहमा राजा बन्ने गुण र गरिमा नभएको बताएको छ ।
राजावादीहरूले राजतन्त्र पुनःस्थापना गर्न भन्दै जेठ १५ गतेदेखि गर्न लागेको आन्दोलनको पूर्वसन्ध्यामा विश्व हिन्दू महासंघको यस्तो बयान आएको हो ।
राप्रपा र राप्रपा नेपालले ज्ञानेन्द्रको विकल्पमा उनका नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका छन्।
तर, विश्व हिन्दु महासंघले ज्ञानेन्द्र र ह्रदयेन्द्रको नाम नलिइकन ‘वर्तमान चर्चामा रहेका व्यक्तिहरूमा राजा हुन आवश्यक गुण नभएको’ जनाएको छ।
महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले राजा र धर्म फरक विषय भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘हिन्दु राष्ट्रमा राजा निषेधित हुँदैन, जनचाहना भएमा राजाकयी गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ । चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण गरिमा पाइँदैन ।’
जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा छ ।
हृदयेन्द्र ज्ञानेन्द्रका नाती र पारस शाहका छोरा हुन् ।
गणतन्त्र स्थापना अघि गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा ‘बेबी किङ’को धारणा चर्चामा थियो । त्यतिबेला राजतन्त्र फाल्दा सेनाले विद्रोह गर्नसक्ने आशंकाका कारण तत्कालीन प्रधानमन्त्री कोइरालाले यिनै ह्रदयेन्द्रलाई ‘बेबी किङ’ बनाउन सकिने धारणा राखेका थिए ।