काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ ।
शुक्रबार भएको बहसपछि अबेर साँझ आदेश जारी गर्दै सर्वोच्चले रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
रवि लामिछानेसँगै उनका व्यवसायिक साझेदार छविलाल बन्जाडेसमेत थुनामै बस्ने भएका छन् ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश सुनाएको हो। मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो।
जिल्ला अदालत रुपन्देहीले छविलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगे।
उच्च अदालत बुटवलले रविलाई थुनामा पठाउने आदेश गर्दा छविको हकमा जिल्लाकै आदेश सदर गरेको थियो। त्यसपछि रुपन्देही कारागारमा रहेका दुवै जनालाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। ती निवेदनसहित बन्दी प्रत्येक्षीकरणको निवेदन पनि साथै राखेर सुनुवाइ गरिएको हो।
रवि लामिछाने र छविलाल जोशी हाल रुपन्देही कारागारमा छन्। उनीहरु चार वटै जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राख्न आदेश दिएको हो।