काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले कालीगण्डकी नदीको बालुवागिटी उत्खनन् गर्ने कार्य तुरुन्त रोक्न माग गर्नुभएको छ ।
२०८२ वैशाख २८ गते प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
अध्यक्ष केसीले भन्नुभयो– ‘जनप्रतिनिधि र कर्मचारी मिलेर कालीगण्डकी नदीमा जुन खालको लुटपाट गरिराखेका छन्, तुरन्त त्यो उत्खनन् रोकियोस् ।’
उहाँले आफ्नो निर्वाचन क्षेत्रनजिकैको कालीगण्डकीमा त्यो काम भइरहेको जानकारी दिनुभयो ।
‘बागलुङ जिल्ला १ मेरो निर्वाचन क्षेत्रमा बालुवागिटी झिक्ने काम यति बढी भइरहेको छ कि यसभन्दा पहिले पनि यो विषय मैले उठाएको थिएँ’ उहाँले भन्नुभयो– ‘जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेकोझिक्यै, त्यहाँ कसैको केही लाग्दैन सरकार रमिते भएर हेरिराखेको छ ।’
अध्यक्ष केसीले कालीगण्डकीको बालुवागिटी उत्खनन् नरोक्ने हो भने त्यसले कालीगण्डकी कोरिडोरसमेत भासिने स्थिति रहेकोतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘सभामुखमार्फत सम्बन्धित मन्त्रालयसमक्ष कडाइपूर्वक त्यो उत्खनन् रोकियोस् भन्ने माग गर्दछु ।’
उहाँले सर्वोच्च अदालतले त्यहाँको बालुवागिटी झिक्दा कोरिडोरलाई खतरा हुने कारणले उत्खनन् गर्न रोक लगाएको सन्दर्भ जोड्नुभयो ।