काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले राजतन्त्रप्रति व्यङ्ग्य गर्दै भन्नुभएको छ– ॅआफ्नै परिवारको रक्षा गर्न नसक्नेबाट देशको रक्षा हुन्छ भन्ने ठान्नु भ्रम हो ।’
राजमो काठमाडौँको आयोजनामा २०८२ वैशाख २७ गते गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
राजतन्त्रको इतिहास आन्तरिक हिंसाले भरिएको बताउँदै उहाँले गत दुई ४० वर्षको इतिहासको स्मरण गर्न आग्रह गर्नुभयो ।
राजतन्त्रको समयमा देशमा शान्तिसुरक्षा स्थिति गम्भीर भएको बताउँदै उहाँले त्यसको एउटा उदाहरणको रूपमा नमिता–सुनिता काण्डलाई प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘समाचार लेखेकै भरमा पदम ठकुराठीको हत्या गर्ने राजतन्त्र गणतन्त्रको विकल्प हुन सक्दैन ।’
नेता शर्माले रगतसित साटेर ल्याएको गणतन्त्रको विरुद्ध राजतन्त्रलाई अगाडि सारेर इतिहासलाई फर्काउने प्रयत्न नगर्न राजावादीलाई चेतावनी दिनुभयो ।
‘गणतन्त्र रगतसित साटेर ल्याएको व्यवस्था हो’ उहाँले भन्नुभयो– ‘इतिहासलाई पछाडि फर्काउने कुचेष्टा नगरौँ । त्यस्ता गर्नेहरू आफै समाप्त भएर जानेछन् ।’
सत्तारूढ काङ्ग्रेस, एमाले, माओवादीले भ्रष्टाचार, कुशासन, बेरोजगारीजस्ता विकृति फैलाएको बताउँदै उहाँले त्यसको विकल्प राजतन्त्र होइन, त्यो भन्दा अग्रगामी व्यवस्था भएको उहाँको भनाइ थियो ।
‘राजावादी खतराका विरुद्ध सङ्घर्ष गर्नु सरकारको समर्थन हुँदै होइन’ यस सन्दर्भमा स्पष्ट पार्नुभयो ।
आफूहरूले सरकारका गलत नीति तथा क्रियाकलापको विरोध गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अहिले काङ्ग्रेस, एमाले, माओवादीसित रिस उठेको कारणले राजतन्त्रलाई समर्थन गर्ने हो भने देश पछाडि फर्किनेछ र पुनः दशकौँसम्म निरङ्कुशताको विरुद्ध लड्नुपर्ने हुन सक्छ ।’
उहाँले २०१७ सालको प्रतिगमनका विरुद्ध ३० वर्ष लड्नुपरेको र २०५९ सालको प्रतिगमनको विरुद्ध चार वर्ष लड्नुपरेको इतिहास स्मरण गर्न जनतासित आग्रह गर्नुभयो ।
ज्ञानेन्द्र टेस्टेड राजा हुन : बुढाथोकी
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल जनजाति सम्मेलनको अध्यक्ष निमबहादुर बुढाथोकीले ज्ञानेन्द्र शाह टेस्टेड राजा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘ज्ञानेन्द्र शाह नेपालका लागि टेस्टेट राजा हुन् ।’

२५ वर्षमुनिका युवामाझ भ्रम फैलाएर ज्ञानेन्द्र शाहले देशमा प्रतिगमनको प्रयास गरिरहेको उहाँको भनाइ थियो ।
राजतन्त्रअन्तर्गत सुशासन हुन नसक्ने प्रमाणस्वरूप उहाँले स्विस घडी प्रकरण र पानीजहाज प्रकरणको उदाहरण दिनुभयो ।
‘राजावादी नवराज सुवेदीले लेखेकै छन्, स्विस घडी कम्पनी निर्माण गर्न खोज्दा यिनै ज्ञानेन्द्र शाहले ५० प्रतिशत सेयर मागेका थिए भने पानीजहाज कम्पनी स्थापना गर्न खोज्दा ६० करोड रकम माग गरेका थिए’ उहाँले भन्नुभयो– ‘यसबाट स्पष्ट हुन्छ– ज्ञानेन्द्र शाह राजा हुनलायक छैनन्, उनी त व्यापारी हुन् । जेमा पनि नाफा खोज्छन् ।’
अहिले राजावादी चलखेल सत्ताप्रतिको असन्तुष्टिलाई उपयोग गर्दै आएको बताउँदै उहाँले गणतन्त्रको रक्षा गम्भीर भएको बताउनुभयो ।
गणतन्त्र रक्षाका लागि यसका पक्षधर सबै गम्भीर हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
राजतन्त्र विरुद्ध खबरदारी गरौँ : विक
कार्यक्रमलाई सम्बोधन गर्दै जातीय समता समाजका महासचिव भक्त विकले यो समय राजतन्त्रका विरुद्ध खबरदारी गर्ने रहेको बताउनुभयो ।
‘राज्यसत्ता नै भ्रष्टाचारमा लिप्त भएकाले हामी सडकमा आउन बाध्य भयौँ’ उहाँले भन्नुभयो– ‘विकृति, विसङ्गतिका जिम्मेवार ठुला पार्टी भए पनि गणतन्त्र नै खराब व्यवस्था होइन । त्यसैले राजतन्त्रका विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता छ ।’

महासचिव विकले देशमा शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था भएको भए राजतन्त्रजस्तो इतिहासमा कुहिसकेको शक्ति सक्रिय हुन नसक्ने धारणा राख्नुभयो ।
ऋण लिएर थप सातओटा प्रदेश पाल्ने सङ्घीयताको प्रसङ्ग जोड्दै उहाँले गणतन्त्रको रक्षाका लागि सङ्घीयता खारेज गरेर जानुपर्ने राजनीतिक आवश्यकता प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता राजमो काठमाडौँका सदस्य दिवाकर सुवेदीले तथा सञ्चालन डम्मर कार्कीले गर्नुभएको थियो ।
