लक्ष्मण बेल्बासे ##
महाभारतको युद्ध केवल धार्मिक आख्यान थिएन, त्यो त मानवीय भावनाको ज्वालामुखी थियो, जहाँ प्रतिशोधको ज्वाला नै विनाशको मुख्य इन्धन बन्यो । दुई पक्षबिचको सङ्घर्षले मात्र होइन, सम्पूर्ण सभ्यताले नै त्यसको कम्पन महसुस गऱ्यो । त्यो युद्ध एक इतिहास मात्र होइन, चेतावनी पनि हो : प्रतिशोधले न न्याय दिन्छ, न समाधान ल्याउँछ, यो त केवल आत्मविनाशको पूर्वघोषणा हो ।
नेपालको आधुनिक इतिहास पनि यस्तै चेतावनीको जीवन्त पुनरावृत्ति हो । समयको रेखामा सञ्चित असन्तोष, जब जब अनुकूल क्षण पाएका छन्, प्रतिशोधको स्वरूपमा विस्फोट भएका छन् । ती विस्फोट केवल सत्ता विरुद्ध थिएन, ती देशको आत्मा विरुद्धको एक प्रकारको चिच्याहट थिए ।
पञ्चायतकाल—एक युग, जहाँ राष्ट्र आफैँभित्र थुनिएको थियो, आकाश खुलेको थिएन, विचार घेरामा थिए । जब प्रजातन्त्रको किरणले त्यो अँध्यारोमा प्रवेश गऱ्यो, नेपाली जनमानसमा एक नयाँ चेतना पलायो । आँखाले संसार देख्न थाले, मनले प्रश्न उठाउन थाल्यो— हामी किन पछाडि ? हामी किन सधैँको सीमान्तमा ? त्यही चेतना नै आन्दोलनको बिउ बन्यो ।
राजतन्त्र विरुद्धको आवाज, लोकतन्त्रको पुनर्स्थापना र द्वन्द्वकालीन क्रान्ति—सबैको मूलभूत प्रेरणा एउटै थियो— बदलाको, प्रतिशोधको तर प्रत्येक क्रान्तिसँग आशा पनि जन्मिएको थियो, न्यायको, समानताको, समृद्धिको । दुर्भाग्यवश, जब जनताले विश्वासको सपना बुन्दै थिए, नेतृत्वले त्यसलाई सौदाबाजीमा परिणत गऱ्यो । सिद्धान्त पतन भए, सत्ता नै उद्देश्य बन्यो । शिक्षाप्रणाली आत्मनिर्भरता होइन, परनिर्भरताको अनुकरण भयो । मौलिकता, संस्कार, र गौरव—ती सबै पाठ्यपुस्तकका फाटिएका पानामा हराउँदै गए । देशप्रेम ‘पुरानो अवधारणा’ बन्यो ।
आजको नेपाली समाज एक आश्चर्यजनक प्रतिस्पर्धाको सिकार बनेको छ, जहाँ सफलताको मापन विदेशयात्रा हो र ज्ञानको उद्देश्य भिसाप्राप्ति । राष्ट्रियता अब आदर्श होइन, अल्पविकसित सोचझैँ लाग्छ । “जननि जन्मभूमिश्च स्वर्गादपि गरियसी”—जहिल्यै शिर उठाएर उच्चारण गरिने यो मन्त्र अब केवल परीक्षा पास गर्न प्रयोग हुने पङ्क्तिमा सीमित छ । दुर्भाग्यवश, अब त त्यो पङ्क्ति पनि कतै हराउन थालेको छ, न पाठ्यपुस्तकमा, न सार्वजनिक चेतनामा ।
शान्ति सम्झौता—जो एक सान्त्वना बन्नुपर्थ्यो, आज पीडाको पुनरुत्थान बनेको छ । न्यायको आशामा बसेकाहरू फेरि धोका खाइरहेका छन् । प्रतिशोधको दियो फेरि बालिएको छ, यसपटक अझ गहिरो आक्रोश र मौन आर्तनादसहित । गणतन्त्र आयो तर गन्तव्य अझै पनि अनिश्चित, अपूरो र अपूरित छ ।
आजको अवस्था भयावह छ । देशविहीन युवा, युवाविहीन देश, दिशाविहीन राज्य र भविष्यविहीन जनमन । अनुहारमा एउटै भाव छ, बेचैनी, असन्तोष र एक अदृश्य प्रतिशोध । यहाँ मूल प्रश्न उठ्छ, यो प्रतिशोधको सागर कतातिर बग्नेछ ?
जब सत्ता स्वयम् सजीव आत्मसमीक्षा गर्न सक्दैन, जब शिक्षाप्रणाली राष्ट्र निर्माण होइन, बजार र बाह्य शक्तिको आदेशअनुसार ढलिन्छ, तब राष्ट्रको आत्मा थला पर्छ । मौलिकता क्रमशः विस्मरणतर्फ जान्छ र साथमा जान्छ, राष्ट्रिय पहिचान पनि ।
सत्तामा रहेका नेतृत्वदायी शक्तिले गम्भीर भएर अब आत्मसमीक्षा गर्नैपर्ने अवस्था आएको छ । हामी एकअर्कालाई हराउने प्रयासमा आफैँलाई गुमाइरहेका त छैनौँ ? हामी राष्ट्रनिर्माण होइन, राष्ट्र विघटनको मार्गमा लम्किरहेका त छैनौँ ?
यथास्थिति कहिल्यै स्थायी हुँदैन । परिवर्तन प्रकृतिको अनिवार्य नियम हो । हिँजो तपाईंहरूले बेचेका धेरै सपना, धेरका बलिदानका आधार बनेका थिए । धेरैले धेरै गुमाइसकेका छन् । उनीहरूका पाउने आशा मनको तरेलीमा अझै पनि तैरिरहेका छन् । तिनका अगाडि राष्ट्र र राष्ट्रियता गौण हुन थालेका छन् । पश्चगमन, अग्रगमनभन्दा प्रगतिशील भएको उल्टो भाष्य निर्माण हुँदैछ । चटकहरू नेता बन्दैछन् । जनताको भरोसा तिनै बन्दैछन् ।
आज दबिएका आवाज, गुम्सिएका आक्रोश र उपेक्षित अस्तित्व एकीकृत भइरहेका छन् । जब ती स्वर विस्फोटमा बदलिन्छन्, सत्ताका स्तम्भ कम्पनमा आउनेछ, त्यो क्षण कसैका लागि सुरक्षित हुने छैन ।
हुन त प्रतिशोध सधैँ नकारात्मक हुँदैन, यदि त्यसलाई परिवर्तनको ऊर्जा बनाइयो भने तर त्यसका लागि सत्ता, शिक्षा र समाज तीनै तहमा पुनः आत्मसमीक्षा आवश्यक छ । आत्मपरीक्षण र आत्मशुद्धिबिना, आजको मौनता नै भोलिको महाविस्फोट बन्न सक्छ, जसको चपेटाबाट कोही अछुतो रहने छैन ।
गल्ती भएका छन् । कमजोरी थुप्रै छन् । अब एक साझा टेबुलमा बस्नुपर्ने बेला आएको छ । गम्भीर रूपमा आत्मसमीक्षा र आत्मशुद्धि गर्ने बेला पनि ढिलो हुन थालेको छ ।
इतिहासतर्फ फर्केर हेर्नुहोस्, पार्टीनिर्माण गर्दा, सङ्गठन बनाउँदा, जुन विचार र दर्शन अँगाल्नुभएको थियो, त्यसको दिशा के थियो ? गन्तव्य के थियो ? अहिले तपाईंहरू कहाँ हुनुहुन्छ ?
आफू उभिएको ठाउँ एकपटक नियालेर हेर्नुहोस् । विगतको समीक्षा गर्नुहोस् । कोकोबाट कति गल्ती भए ? आत्मालोचना गर्नुहोस् । जनताले अझै पनि सच्चिन सक्ने मौका दिएका छन् । बिराएको बाटोबाट फर्किनुहोस् । जहाँ पुगे पनि त्यहीँबाट सही दिशाको खोजी गर्नुहोस् ।