सन्धिखर्क । नेकपा (मसाल) का ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीले सङ्घीयता आर्थिक दृष्टिकोणले बोझिलो भएकोले फाल्नुको विकल्प नरहेको बताउनुभएको छ ।
अर्घाखाँचीको मालारानी रतनमारेमा राष्ट्रिय जनमोर्चाद्वारा २०८२ वैशाख २६ गते शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
काङ्ग्रेस, एमाले, माओवादीलगायतका सत्तासिन पार्टी राष्ट्रघात गर्नका लागि तछाडमछाड गर्ने गरेका उल्लेख गर्दै उहाँले सरकार जनताको नभएर अपराधी, भ्रष्टाचारी, शैक्षिक माफिया र भूमाफियाको भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘यस खालका शासक वर्गका कारणले गणतन्त्रमाथि खतरा बढेको छ ।’

कार्यक्रमलाई राजमो पूर्व केन्द्रीय सदस्य सागर केसी, राजमो अर्घाखाँचीका सचिव बाबुराम पन्थी, राजमो जिल्ला सचिवालय सदस्य कमल घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो जिल्ला सचिवालय सदस्य देवेन्द्र कुँवर, जिल्ला सदस्यहरू वीरबहादुर कुँवर र गिरिप्रसाद आचार्य, अखिल नेपाल महिला सङ्घ अर्घाखाँचीकी खकी थापा, राजमो गुल्मीका सदस्य सूर्य थापा, राजमो प्युठानका नेता रामबहादुर जिसी, जातीय समता समाज गुल्मीका उपाध्यक्ष कृष्ण विकलगायतका अतिथिको आतिथ्य रहेको थियो ।
राजमो मालारानीका सचिव सुदीप पन्थीको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको अध्यक्षता योगेन्द्र थापाले र स्वागत डिलबहादुर खत्रीले गर्नुभएको थियो ।
