काठमाडौँ । नेकपा (मसाल) ले आपसी छलफलद्वारा कस्मिर समस्या समाधान गर्न आग्रह गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख २५ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।
वक्तव्यमा मसालले कस्मिरको समस्या बल्झिनुका पछाडि त्यहाँका जनतालाई आत्मनिर्णयको अधिकार नदिनु हो भने किटानी गरेको छ ।
संयुक्त राष्ट्र सङ्घ, भारत र पाकिस्तानले कस्मिरी जनताको आत्मनिर्णयको अधिकारसम्बन्धी पहिले नै भएको सम्झौता कार्यान्वयन गर्न पनि मसालको आग्रह गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“भारतद्वारा पाकिस्तानमाथि गरिएको सैनिक आक्रमण तथा त्यसबाट उत्पन्न स्थितिमाथि विचार गर्नका लागि आज उपलब्ध पी.बी.एम. सहित नेकपा (मसाल) को केन्द्रीय कार्यालयको बैठक बसेको थियो । त्यो छलफलद्वारा निकालिएको निष्कर्षलाई सार्वजनिक गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
१. भारतद्वारा पाकिस्तानका विभिन्न स्थानमा सैनिक आक्रमण गरिएको छ । त्यसबाट कुन प्रकारको स्थिति उत्पन्न हुनेछ र युद्धले कुन प्रकारको रूप लिनेछ ? त्यो कुरा सम्भवतः आउने दिनमा नै थाहा हुनेछ । जे होस्, भारत र पाकिस्तानका बिचमा युद्ध हुन्छ भने त्यसले ती दुबै देशलाई ठुलो क्षति पुऱ्याउनुका साथै पूरै दक्षिण एसियामा पनि त्यसले असर पार्नेछ र त्यसको विश्वभरमा नै प्रभाव पर्नेछ ।
२. समाचार माध्ययमद्वारा प्राप्त जानकारीअनुसार भारतले आतङ्कवादीमाथि नै आक्रमण गरेको भने पनि त्यो आक्रमणबाट कैयौँ निर्दोष महिला र बालबालिकाको पनि हत्या भएको छ । त्यस प्रकारको कारबाहीलाई अवश्य पनि न्यायसङ्गत भन्न सकिन्न र हामीले त्यस प्रकारको कारबाहीको विरोध गर्दछौँ ।
३. भारत र पाकिस्तान दुबै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् । त्यो युद्धको क्रममा अणुबमको पनि प्रयोग भयो भने त्यसबाट ठुलो क्षति पुग्नेछ । त्यसकारण हामीले यो कुरामा जोड दिन्छौँ कि उनीहरूका आपसी मतभेद वा समस्यालाई परस्परमा छलफल गरेर टुङ्ग्याउनका लागि कोसिस गर्दै युद्धलाई रोक्न दुबै देशले ध्यान दिनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । त्यसका लागि हामीले संयुक्त राष्ट्र सङ्घ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाको पनि ध्यान आकर्षित गर्न चाहन्छौँ ।
४. पहलगामको घटना अवश्य पनि आतङ्कवादी घटना हो । संसारमा जहाँ पनि निःशस्त्र र निरपराध जनतामाथि गरिने कुनै पनि हिंसात्मक कारबाही आतङ्कवादी कारबाही हो र हामीले त्यसको सधैँ विरोध गर्दै आएका छौँ र पहलगामको आतङ्कवादी कारबाहीको पनि हामीले तीव्र शब्दमा विरोध र भर्त्सना गर्दछौँ ।
५. पहलगामको हत्याकाण्डपछि सम्बन्धित अपराधीलाई पत्ता लगाएर उनीहरूलाई आवश्यक दण्डसजाय गर्न नै सही र न्यायोचित कार्य हुन्थ्यो तर त्यसको नाममा कुनै देशमाथि आक्रमण गर्नु र त्यसरी युद्धको स्थिति तयार पार्नु अवश्य पनि सही कुरा होइन ।
६. कस्मिरका जनताले लामो समयदेखि जनमत सङ्ग्रहद्वारा आफ्नो भाग्यको फैसला गर्ने आत्मनिर्णयको अधिकारका लागि सङ्घर्ष गर्दै आएका छन् । अहिले कस्मिरका इलाकामा एकातिर भारतले र अर्कोतिर पाकिस्तानले कब्जा जमाएका छन् । त्यसरी कस्मिरका जनता ती दुबै देशद्वारा पीडित छन् ।
७. पहिले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा र भारत र पाकिस्तान दुबै देशको सहमतिमा कस्मिरका जनतालाई जनमत सङ्ग्रहद्वारा भारत र पाकिस्तानमध्ये कुनै देशमा मिल्ने वा स्वतन्त्र रहने निर्णय गर्न दिने सम्झौता भएको थियो तर पछि भारतले स्वयम् आफ्नै सहमतिमा भएको त्यो सम्झौतालाई अस्वीकार गऱ्यो र पूरै कस्मिरमा आफ्नो अधिकार भएको दाबी गऱ्यो । त्यसले कस्मिरमा जनमत सङ्ग्रह गराउन पनि अस्वीकार गऱ्यो । कस्मिरका जनताले गत करिब ७ दशकदेखि आफ्नो भाग्यको फैसला गर्न जनमत सङ्ग्रहको लागि आन्दोलन गर्दै आएका छन् । त्यो सम्झौता लागु नभएको हुनाले नै कस्मिरमा अशान्ति छ । कस्मिरका जनताले जनमत सङ्ग्रहका लागि गरिरहेको आन्दोलन न्यायपूर्ण छ र हामीले त्यसलाई दृढतापूर्वक समर्थन गर्दछौँ ।
८. कस्मिरका जनताले जनमत सङ्ग्रहका लागि गरिरहेको न्यायपूर्ण आन्दोलनको सिलसिलामा त्यहाँ आतङ्कवादी गतिविधि पनि देखा पर्ने गरेका छन्, जसको ताजा उदाहरण पहलगामको घटना हो । कस्मिरमा कतिपय आतङ्कवादी गतिविधि हुने गरेको भए पनि त्यो कारणले कस्मिरका जनताको जनमत सङ्ग्रहको न्यायपूर्ण मागलाई गलत बताउनु वा दबाउनु अवश्य पनि सही हुने छैन ।
९. कस्मिरसम्बन्धी विवादका कारणले भारत र पाकिस्तानका बिचमा कैयौँ पल्ट युद्ध भएका छन् र अहिले पनि युद्धको स्थिति उत्पन्न भएको छ । जबसम्म कस्मिरका जनताको जनमत सङ्ग्रहको न्यायपूर्ण मागलाई पूरा गरिने छैन, कस्मिरको तनावपूर्ण अवस्था कायम रहिरहनेछ र शक्तिको बलमा त्यसलाई दबाउन कहिल्यै पनि सम्भव हुनेछैन । त्यसैले संयुक्त राष्ट सङ्घको मध्यस्थतामा तथा स्वयम् भारत र पाकिस्तानको बिचमा भएको सहमतिअनुसार कस्मिरमा जनमत सङ्ग्रह गराएर त्यहाँका जनतालाई आफ्नो भाग्यको फैसला गर्ने अधिकार दिनु नै अहिलेको कस्मिरमा देखा परेको तनावपूर्ण स्थिति र अशान्तिको समेत समाधान हुनेछ । त्यो अवस्थामा दशाब्दियौँदेखिको पाकिस्तान र भारतका बिचको तनावपूर्ण सम्बन्धमा पनि सुधार हुनेछ ।”