बुर्तिबाङबजार (बागलुङ) ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ उद्घोषका साथ बागलुङको बुर्तिबाङबजारमा सभा सम्पन्न गरेको छ ।
२०८२ वैशाख २० देखि २६ गतेसम्म सञ्चालित पालिकास्तरीय केन्द्रीय सङ्घर्षको कार्यक्रमअन्तर्गत वैशाख २४ गते बुधबार सो कार्यक्रम सम्पनन भएको हो ।
सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख वक्ता राजमो बागलुङका अध्यक्ष तिलक थापाले गणतन्त्रमाथि खतरा बढ्नुमा राजावादी शक्ति मात्रै जिम्मेवार नभएको बताउनुभयो ।
‘अहिलेसम्म सत्तामा रहेर नागरिकको चाहनाअनुसार काम गर्न नसक्नु, भ्रष्टाचार बढ्दै जानु, नागरिकरुले सुशासनको प्रत्याभूति हुने गरि सुधार गर्न नसक्नु पनि प्रतिगामी खतराको आधारभूमि हो’ उहाँले भन्नुभयो– ‘देशका सत्तासिन पार्टीहरू आफूलाई सिद्धान्तमा गणतन्त्रवादी घोषणा गरे पनि शासन गर्ने कार्यशैली र व्यवहारले गणतन्त्रप्रति जनताको बिश्वास घट्दै गएको छ ।’

जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धि जोगाउने आन्दोलनमा सहभागी हुन उहाँले आम जनतासित आह्वान गर्नुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गा खरेलले मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, कार्यक्रममा नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष सबिन अर्गेजालगायतको आतिथ्य रहेको थियो ।
राजमो बागलुङका कोषाध्यक्ष दीपक थापाको अध्यक्षता, सचिव भीमलाल पोखरेलको सञ्चालन तथा जिल्ला सदस्य थमन घर्तीको स्वागत मन्तव्यसँगै सो सम्पन्न भएको थियो ।
सप्ताहव्यापी कार्यक्रमको समापन बैशाख २६ गते बागलुङबजारमा राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न हुने राजमो बागलुङले बताएको छ ।