दिक्तेल । खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ ।
फरक फरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरेको हो ।
दलितलक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिनुभयो ।
‘हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठुलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ’ उहाँले भन्नुभयो–’हाम्रो पालिकामा फरक फरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको हो ।’
गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं. १ लिकुवापोखरीका चार, वडा नं. २ वाप्लुखाका एक, वडा नं. ३ सावाकटहरेका चार, वडा नं. ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ ।
त्यस्तै, वडा नं. ६ इन्द्रणीपोखरीका छ, वडा नं. ७ खोटाङबजारका एक, वडा नं. ८ सिम्पानीका ११ र वडा नं. ९ लिच्कीराम्चेका नौ जोडीलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रूपेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. ५ चिप्रिङमा केही समयपछि अर्को चरणको कार्यक्रम राखेर सम्मान गरिनेछ ।
अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उहाँहरू हर्षित हुनुभएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।
उहाँका अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।
सम्मान कार्यक्रमको अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले वडास्तरीय जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।
सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेका विभेद र छुवाछुतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । (रासस)





