दाङ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले आजको युगमा सामन्ती व्यवस्था नचल्ने बताउनभएको छ ।
२०८२ वैशाख २३ गते मङ्गलबार भालुबाङमा आयोजित सभामा उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले भन्नुभयो– ‘आजको युग लोकतन्त्र र नागरिक सर्वोच्चताको युग हो । त्यसैले कसैको परिवार र सन्तान भएको कारण नागरिकको नेतृत्व गर्न सक्दैन ।’
‘प्रतिगामी खताराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राजमो राप्ती गाउँपालिका समितिले आयोजना गरेको उक्त सभालाई अर्का वक्ता नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले पनि सम्बोधन गर्नुभएको थियो ।
राजतन्त्रको बाँकी रहेको अस्तित्व धिपधिप चैत १५ गते तीनकुने घटनाबाट देखिएको बताउनुभयो ।
राजमो दाङका जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्र स्थापनापछि सरकारको नेतृत्व गर्ने दलहरूको भ्रष्ट र गैरजिम्मेवार प्रवृत्तिका कारण प्रतिगामी चलखेल बढेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का पूर्व केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, राजमो दाङका उपाध्यक्ष महेश रिजाल, जिल्ला सदस्य चम्फा भुसाल, हुमा मास्के, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य चन्द्रप्रकाश आचार्य, अप्फाका केन्द्रीय सदस्य विष्णु आचार्य, जिल्ला उपाध्यक्ष माधव आचार्य, अखिल नेपाल महिला सङ्घकी जिल्ला उपाध्यक्ष कमला बेलबासे, राप्ती उद्योग वाणिज्य सङ्घका सदस्य तथा राप्ती इलेक्ट्रोनिक तथा मोबाइल ब्यबसायी सङ्घ अध्यक्ष हरि खडका र भालुबाङ होटल व्यवसायी सङ्घका उपाध्यक्ष पुनाराम भुसालको आतिथ्य रहेको थियो ।
राजमो राप्तीका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा सचिव दलबहादुर घर्तीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा पालिका समितिका कोषाध्यक्ष गिरबहादुर पौडेलले स्वागत गर्नुभएको थियो ।