केही दिन पहिले शशिभर भण्डारीको ‘इतिहासको संयोग वा विचारधाराको विजोग’ भन्ने लेख नयाँ युगबोध अनलाइनमा प्रकाशित भएको थियो । उक्त लेखमा उहाँले नेकपा (मसाल)को विचारधाराको आलोचना मात्रै होइन, महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको व्यक्तिगत चरित्रहत्या गर्नुभएको छ । एउटा उच्च तहको मानिएको नेताबाट व्यक्तिगत चरित्रहत्याको कल्पना गरिंदैन ।
हाम्रा साथीहरुको एउटा समस्या के छ भने विचारमाथिको बहस गर्दा व्यक्तिगत इगो लिने, चरित्रहत्या गरिदिने र बोलचाल समेत बन्द गर्ने । कतै शशिधर भण्डारीले मसँग त्यस्तै प्रकारले व्यवहार अपनाउनुहुने त होइन ? व्यक्तिगत रुपमा हाम्रो सम्बन्ध राम्रो छ । विचारमा फरकपन आउँदैमा र सार्वजनिक रुपमा बहस हुँदैमा व्यक्तिगत सम्बन्धमा चिसोपन आइहाल्नुपर्छ र बोली बार्नुपर्छ भन्ने मलाई लाग्दैन । आशा छ, शशिधर भण्डारीबाट त्यस्तो हुने छैन ।
कुनै पनि व्यक्तिको व्यक्तिगत चरित्रहत्या र भण्डाफोर कहिल्यै पनि नगर्ने मेरो घोषित नीति हो । मैले विचारको तहमा मात्रै बहस गर्न रुचाउँछु । कसैका व्यक्तिगत आनीबानी र चरित्रमाथि सार्वजनिक रुपमा प्रश्न उठाउने जुनसुकै व्यक्ति स्वयं चरित्रहीन हो वा चरित्रवान हो भन्ने छुटट्याउने जिम्मा पनि पाठककै हो । नेकपा (मसाल)मा लामो समय काम गर्नुभएकोले उहाँले कसैको चरित्रहत्या गर्नुहुने छैन भनेर मैले पनि अपेक्षा गरेको थिएँ । तर उहाँबाट त्यो अपेक्षा पूरा भएको पाइन । त्यसैले म आफै लज्जित छु । किन पनि लज्जित छु भने उहाँसँग मैले झण्डै सात वर्ष सुखदुखमा हाँक साप्ताहिकमा विताएको छु । र, कैयौं पल ती दुखका दिनहरु सम्झन्छु ।
१. शशिधर भण्डारीले पार्टी महाधिवेशन सम्पन्न भएको एक वर्षपछि नेकपा (मसाल)लाई दक्षिणपन्थी करार गर्नुभएको छ । उहाँलाई दक्षिणपन्थी करार गर्न किन एक वर्ष लाग्यो त ? किनभने उहाँ पार्टीभित्र रहुञ्जेल पार्टी क्रान्तिकारी नै थियो । अब पार्टीबाट बाहिरिएपछि दक्षिणपन्थी करार गर्न थाल्नुभएको छ । पार्टीबाट बाहिरिने सबै साथीहरुले पार्टीलाई दक्षिणपन्थी नै करार गरिरहेको इतिहास हुनाले यो कुनै नयाँ आरोप होइन । जुन आरोप ४० वर्षदेखि नेकपा (मसाल)माथि लागिरहेको छ । बासी आरोपको खण्डन गर्नुपर्ने आवश्यकता रहेन ।
नेकपा (मसाल) एउटा क्रान्तिकारी पार्टी हो । यसले सर्वहारा, मजदुर, किसान र गरिब जनताको पक्षपोषण गर्दछ । नेकपा (मसाल)ले वैज्ञानिक समाजवाद स्थापनाको उद्देश्य लिएको छ र आफ्नो घोषित उद्देश्यबाट विचलित भएको छैन । शशिधर भण्डारीले खोज्नुभएको पार्टीको उद्देश्य चाहिं के हो थाहा हुन सकेन ।
२. उहाँले पार्टीलाई एसमेनहरुको गुट भन्नुभएको छ । अर्थात् नेकपा (मसाल)लाई पार्टी स्वीकार गर्न छोड्नुभएको छ । अब उहाँको परिभाषामा नेकपा (मसाल) पार्टी होइन, गुट हो । हिजोसम्म महान् पार्टी रातारात कसरी गुटमा परिणत भयो, त्यसबारे खुलाउन सक्नुभएको छैन । भन्दिए भयो, एसमेनहरुको गुट । क्या सजिलो । यस विषयमा पनि थप टिप्पणी गर्नुपर्छ जस्तो लाग्दैन ।
उहाँको लेख स्वीकार गर्ने जति सबै क्रान्तिकारी, अरु चाहिं सबै एसमेनहरुको गुट ? जब कि पार्टीभित्र उहाँले भनेजस्तै विगतका अल्पमतहरुका साथीहरु पनि छन् । ती साथीहरु पार्टीका हुन् कि गुटका ? के उहाँले यसको जवाफ स्वयं हिजोका अल्पमतका साथीहरुलाई दिन सक्नुहुनेछ ? नेकपा (मसाल)लाई गुट करार गरेर उहाँले अल्पमतका भनिएका साथीहरुकै अपमान गर्नुभएको छ । के अल्पमतका भनिएका सबै साथीहरुले नेकपा (मसाल)लाई गुट भन्नुभएको छ ? होइन, त्यस्तो हुँदै होइन, उहाँहरुले नेकपा (मसाल)लाई गौरवशाली क्रान्तिकारी पार्टी मान्दै आउनुभएको छ ।
शशिधर भण्डारीले गुट भनेर अपमान गर्दैमा अल्पमतका साथीहरुको पार्टीप्रतिको आस्था, लगाव, प्रतिबद्धतामाथि प्रश्न उठाउने हिम्मत शशिधर भण्डारीलाई कसरी प्राप्त भयो ? निश्चित रुपमा अल्पमतका भनिएका साथीहरुले शशिधर भण्डारीलाई प्रश्न सोध्नु नै हुनेछ ।
३. पार्टी नेतृत्वको खुला गुणगान र पार्टी नेतृत्वको व्यक्तिगत चरित्रहत्या यी दुवै घातक प्रवृत्ति हुन् । उहाँ र मैले लामो समयसम्म हाँक साप्ताहिकमा सँगै काम गरेका थियौं । उहाँले दर्जनौं लेखरचनाहरुमा मोहनविक्रम सिंहको खुला गुणगान गाउनुभएको थियो । त्यतिबेला मलाई अनौठो लाग्थ्यो । यसरी खुला गुणगान गाउनुको अर्थ के होला ? अब शशिधर भण्डारी फेरिनुभएको छ । उहाँले खुलारुपमा व्यक्तिगत चरित्रहत्या गर्नतिर लाग्नुभएको छ ।
सायद उहाँले यो सोच्नुभएको थिएन होला कि कुनै दिन यसरी व्यक्तिगत रुपमा खुला चरित्रहत्या गर्ने दिन आउनेछन् । व्यक्तिगत गुणगान र व्यक्तिगत चरित्रहत्या गर्ने प्रवृत्ति सही होइन भन्ने कुरामा उहाँ जानकार हुनुहुन्छ । तर पनि उहाँले त्यही गरिरहनुभएको छ । उहाँले त्यतिबेला किन खुला गुणगान गाउनुभयो होला र अहिले किन चरित्रहत्या गर्नुभयो होला । यो अनुमान गर्ने जिम्मा चाहिं मैले पाठकहरुलाई नै छोडिदिन्छु ।
४. राष्ट्रिय जनमोर्चा सरकारमा जानु हुन्थ्यो कि हुने थिएन भन्ने कुरा पार्टीभित्र र बाहिर पनि हिजो पनि बहस भएको थियो र पछि पनि बहस भइ नै रहनेछ । पार्टीको बहुमतले सरकारमा जाने निर्णय गरेको थियो र उक्त निर्णयलाई पार्टीको राष्ट्रिय भेलाले अनुमोदन गरेको थियो । त्यस कुरामा असहमति राख्ने साथीहरु अहिले पनि हुनुहुन्छ र भविष्यमा कुनै पनि दिन उक्त निर्णय गलत थियो भन्ने लागेमा निर्णय पुनरावलोकन अधिकार पार्टीमा सुरक्षित छ । किनभने पार्टीले विगतमा गरेका कैयौं निर्णयहरु पुनरावलोकन गरेका उदाहरणहरु छन् ।
पार्टीका साथीहरुले पार्टीभित्र आफ्नो मत प्रकट गरिरहेकै छन् । पार्टीभित्र सैद्धान्तिक आलोचना गरिनुलाई बेठीक मान्न सकिंदैन । तर उहाँले चित्रबहादुर केसीलाई सरकारमा गएको बेलामा तातोपानी र चिसो पानीका उखान सुनाएको भनेर व्यक्तिगत आलोचनामा उत्रिनुभएको छ । यसरी व्यक्तिगत आलोचनामा ओर्लनेगरी व्यवहार नगरेको भए उचित हुन्थ्यो भनेर केही महिनापछि आफ्नै लेख पढ्दा पनि उहाँलाई त्यो अनुभव हुनेछ भनेर मैले कल्पना गरिरहेको छु ।
५. उहाँले बहुमत पक्षका साथीहरुलाई चम्चाहरु भन्दै अपमान गर्नुभएको छ । पार्टीका नेताकार्यर्ताहरु उहाँलाई कहिलेदेखि चम्चा लाग्न थाले ? विगतको अल्पमतलाई समर्थन गर्दा क्रान्तिकारी भइने र बहुमतलाई समर्थन गर्दा चम्चा भइने ? यो कस्तो खालको विश्लेषण हो ?
मलाई प्रश्न सोध्न मन लागेको छ, पार्टीकै सहकर्मी साथीहरुलाई चम्चा भन्ने हिम्मत चाहिं कसरी आयो कमरेड ? तपाइँलाई मन नपरेका जति सबै चम्चाहरु हुन् ? यसरी सार्वजनिक रुपमा आफ्नै साथीहरुलाई चम्चा भन्नुमा तपाइँमा कुनै प्रकारको ग्लानी महसुस भएन ? आफूलाई एउटा क्रान्तिकारी भन्ने नेताले आफ्नै साथीहरुलाई यो हदसम्म कसरी अपमान गर्न सक्छ ? यस विषयमा मलाई यो भन्दा धेरै भन्न मन लागेन ।
६. शशिधर भण्डारी कैयौं ठाउँमा महामन्त्री र चित्रबहादुर केसीको चरित्रहत्यामा उत्रिनुभएको छ । तपाइँ यसरी चरित्रहत्या गर्ने तहमा कसरी पुग्नुभयो कमरेड ? व्यक्तिगत चरित्रहत्याको लागि फरक सिद्धान्त प्रतिपादन गनुएभएको भए बेग्लै कुरा भयो । तर सामान्यतया दुश्मनहरुको पनि व्यक्तिगत चरित्रहत्या गरिंदैन । त्यही काम एउटा क्रान्तिकारीबाट कसरी हुन गयो ? शशिधर भण्डारीको नामबाटै अरु कसैले लेखिदिएको लेख होइन तर विभिन्न अनलाइनहरुले शीर्षक फेरेको भन्ने कुरा उहाँले फेसबुकबाट पनि जानकारी गराउनुभएको थियो ।
७. अन्त्यमा, एउटा कुरा । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते निरंकुश शासन चलाए । शशिधर भण्डारीले राजाको प्रतिगामी कदमको समर्थन गर्दै हाँक साप्ताहिकमा सम्पादकीय लेख्नुभयो । जब कि कांग्रेस, एमाले निकटका पत्रिकाहरुले पनि त्यसरी खुला रुपमा शाही कदमको समर्थनमा लेखेका थिएनन् । तपाइँले लेख्नुभयो । त्यो एक प्रकारको आत्मसमर्पण थियो । राजाले प्रतिगमन गर्दैमा एउटा क्रान्तिकारीले आत्मसमर्पण गर्ने तहमा कसरी पुग्यो कमरेड ? वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मोहनविक्रम सिंह, केपी ओली कसैले पनि लामो समय जेल बस्दा समेत एक शब्दमा पञ्चायत स्वीकार गर्छु भनेको भए जेल बस्नु पर्ने थिएन । तर उनीहरुले कहिल्यै त्यसो गरेनन् । तपाइँले एउटा क्रान्तिकारी पत्रिकाको हेडक्वार्टरमा बसेर शाही कदमको समर्थन कसरी गर्न सक्नुभयो ? तर जसरी गरे पनि गर्नुभयो । पञ्चायतविरुद्धको इतिहास बोकेको पत्रिकामाथि कलंक लगाइदिनुभयो र आज तपाइँ त्यही पत्रिकाको सम्पादक हुनुहुन्छ र व्यक्तिगत रुपमा नेकपा (मसाल)लाई दक्षिणपन्थी र आफूलाई क्रान्तिकारी घोषणा गर्नुभएको छ ।
के तपाइँले त्यो सम्पादकीयप्रति कहिल्यै पश्चाताप गर्नुभयो ? खुला आत्मालोचना गर्नुभयो ? युगबोध अनलाइनमा तपाइँको त्यो लेख पढेपछि मलाई यही प्रश्न सोध्न मन थियो । यो तपाइँप्रतिको व्यक्तिगत आलोचना होइन कमरेड । तपाइँले क्रान्तिकारी विचारमाथि गर्नुभएको आत्मसमर्पणमाथि प्रश्न उठाइएको हो । आशा छ, तपाइँले उचित जवाफ दिनु हुने नै छ ।