खलङ्गा । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराका विरुद्ध विरोधसभा र जुलुस प्रदर्शन कार्यक्रम सम्पनन भएको छ ।
राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०८२ वैशाख २१ गते आइतबार जुलुस प्रदर्शनसहित जनचेतनासभा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले देशमा शासकको जनपक्षीय चरित्र नभए पनि गणतन्त्रको विकल्प नभएकोले गणतन्त्र रक्षाको विषयलाई लिएर देशव्यापी रूपमा राष्ट्रिय जनमोर्चाले अभियान चलाएको बताउनुभयो ।
जनताको चेतनास्तर उच्च हुनासाथै देशमा यसभन्दा पनि अग्रगामी व्यवस्था स्थापना गर्न सकिने सम्भावनातर्फ इसारा गर्दै उहाँले तत्कालका लागि राजतन्त्रतर्फ फर्किनुभन्दा गणतन्त्र नै अग्रगामी व्यवस्था भएको बताउनुभयो ।
सभालाई नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसी, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव तारा जिसीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता जनक केसीले, स्वागत हुकुम थापाले र सञ्चालन कृष्णप्रसाद जैसीले गर्नुभएको थियो ।
