काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा शुक्रबार गुडिरहेको बोलेरो पिकअप भ्यान जमिनमुनि धसियो ।
शुक्रबार हराएको गाडी अझैपनि भेटिएको छैन ।
हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा शुक्रबार दिउँसो घाँस काट्ने मेसिन बोकेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको सिंगल क्याब पिकअप गाडी भासिएको हो ।
गाडी धसिँदै जान थालेपछि चालक र सहचालकले भने भागेर ज्यान जोगाएका छन् । उनीहरूले गाडीलाई पछाडिबाट डोरीले बाँधेर तान्ने प्रयास गरेपनि गाडी पुरै जमिनमुनि डुबेको स्थानीय बताउँछन् ।
गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ ।
गाडी भासिएको सडकको दायाँ–बायाँ माछापालन पोखरी छन् भो त्यो सडककै छेउमा पानी तान्ने बोरिङ गाडिएको छ ।
स्थानीयका अनुसार अहिले बाटो बनेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल थियो । त्यो दलदलमा स्थानीयका हल गोरु हराउने घटना पनि भएका थिए ।