काठमाडौँ । आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी
भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको जनाउँदै यस्तो अनुमान व्यक्त गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।
त्यसले गर्दा देशका हिमाली एवम् पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।