काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले आठ घण्टा कामको माग अझै पनि लागु नभएको दाबी गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा एक सय छत्तिसौँ मे दिवसको अवसरमा २०८२ वैशाख १८ गते अबेर रातीसम्म आयोजित भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘पुँजीवादले यस्तो स्थिति निर्माण गरेको छ, आठ घण्टा काम गर्दा गुजारा नै चल्न सक्दैन’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसैले गुजाराका लागि पनि मानिसहरूले बढी समय काम खोज्छन् । यसरी आठ घण्टा कामको माग अझै लागु भएको छैन ।’
उहाँले अहिले उच्च प्राविधिक दक्ष जनशक्ति पनि मजदुरको चरित्रमा रहेको बताउनुभयो ।
पुँजीपतिले आफूबाहेक सबैलाई मजदुर बनाएको बताउँदै उहाँले भन्नुभयो– ‘उच्च प्राविधिक श्रमशक्तिले पनि साधारण मजदुरले झैँ पुँजीपतिसामु काम माग्नुपर्ने आवश्यकता उत्पन्न भएको छ ।
उहाँले मसिन र आइर्टिफिसियल इन्टेलिजेन्सले गर्दा बेरोजगारी बढ्दै गएको धारणा पनि राख्नुभयो ।
‘मेसिन र एआईले गर्दा बेरोजगारी बढ्दैछ, आर्थिक मन्दीको खतरा बढ्दै गइरहेको छ’ नेता शर्माले भन्नुभयो ।
मे दिवसको इतिहास श्रमिकको रगतले लेखिएको बताउँदै उहाँले विश्व परिस्थिति पुनः १८–२० घण्टा काम गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मे दिवसको मर्म भनेको मजदुरको मुक्तिको दिशामा अगाडि बढ्ने हो । यस अवसरमा हामीले त्यसका लागि प्रयास गरौँ ।’
कार्यक्रम राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा अन्तर्राष्ट्रियका महासचिव खुम रायमाझी, नेकपा (मसाल) ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता समीर सिंह, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली, अन्तर्राष्ट्रियकी सल्लाहकार निशा खनाल र नेपाली एकता समाजककी जमुना सापकोटाले पनि मन्तव्य राख्नुभएको थियो ।
अन्तर्राष्ट्रियका अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा सचिव तेजेन्द्र क्षेत्रीको उद्घोषणमा अघि बढेको उक्त कार्यक्रममा उपाध्यक्ष प्रेम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।