केरसिंह अदै ##
आज मे १, २०२५ का दिन एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस हो । ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जनका लागि मजदुरहरूले आन्दोलन सुरु गरेको दिन हो आज । अमेरिकाको सिकाको सहरमा सन् मे १, १८८६ का दिन मजदुरले आजैका दिन आन्दोलन सुरु गरेका थिए ।
सन् १८८६ भन्दा पहिला संसारमा काम गर्ने मजदुरका लागि कार्यदिवसको समयसीमा थिएन । १८ घण्टा, २० घण्टासम्म पुँजीपतिहरूले उनीहरूलाई काममा लगाउँथे ।
बेलायतमा भएको औद्योगिक क्रान्तिले विश्वमा ठुलो हलचल ल्यायो । सन् १८०२ देखि नै त्यहाँ कम्पनी खुल्न सुरु भयो । सय मजदुरले गर्ने काम एउटा मेसिनले गर्न थालेपछि मजदुर बेरोजगार भए । त्यसबाट समस्या आउन थाल्यो । फलस्वरूप मजदुरहरू सङ्गठित हुन थाले । मेसिन तोडफोड गर्न थाले । नाराजुलुस गर्न थाले । काल्पनिक समाजवादीको प्रभावमा धेरै वर्षसम्म यस खालको मजदुर आन्दोलन चल्यो ।
मार्क्स, एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र सार्वजनिक गरे । त्यो घोषणापत्रको मुख्य नारा ‘संसारका मजदुर एक हौ’ भन्ने थियो । यो नारा चर्चित हुन थाल्यो ।
यसभन्दा पहिले फ्रान्स र जर्मनीका मजदुर आन्दोलनमा पटक पटक धोका खाएका मजदुर सङ्गठनहरू ‘संसारका मजदुर एक हौँ’ भन्ने आधारमा पुनः नयाँ तरिकाले अगाडि बढ्न थाले । पुँजीवादले अन्तर्राष्ट्रिय रूप लिएसँगै मजदुर वर्गले पनि अन्तर्राष्ट्रिय स्तरको मजदुर सङ्गठन निर्माण गर्ने पहलकदमी गरे ।
फ्रान्स र बेलायतका मजदुरको पहलमा सन् १८६४ मा अन्तर्राष्ट्रिय मिहिनेतकश मजदुर सङ्घ गठन भयो । यसलाई कम्युनिस्ट इतिहासमा प्रथम अन्तर्राष्ट्रिय भनिन्छ । यसले ॅसंसारका मजदुर एक हौँ’ भन्ने नारालाई कार्यान्वयन गर्ने काम गऱ्यो । मजदुर आन्दोलनको समीक्षा गऱ्यो । यो सम्मेलनमा विभिन्न विचार राख्ने व्यक्तिहरू सम्मिलित थिए । यसले गर्दा सही दिशा दिने काममा चुनौती उत्पन्न भयो । फलस्वरूप ट्रेड युनियनवादी, अर्थवादी, अराजकतावादी हावी हुन पुगे ।
प्रथम सम्मेलनपछि ब्रिटेन, स्विटजरल्यान्ड, बेल्जियममा पनि मजदुर सङ्गठन निर्माण भए । मजदुर आन्दोलनले नयाँ रूप लिँदै गयो । यहीबिचमा कार्ल मार्क्सले ॅपुँजी’ को भाग १ सन् १८६७ मा प्रकाशित गरे । यसले मजदुर वर्गलाई प्रशिक्षित गऱ्यो ।
८ घण्टा कामको माग सन् १८६६ देखि ६० ओटा मजदुर सङ्गठनको बाल्टिमोर भेलाले सुरु गर्ने निर्णय गरेको थियो । आन्दोलन बढ्दै जाँदा मे १, १८८६ मा अमेरिकाको सिकागो सहरमा मजदुरले निर्णायक आन्दोलन सुरु गरेका हुन् । त्यस दिन लाखौँ मजदुर सडकमा आए । आम हड्ताल भयो । मे २ का दिन आन्दोलन अन्य सहरमा पनि सुरु भयो । मे ३ का दिन आन्दोलनमा घुसपैठ भयो । एक जनाले पुलिस भएकोतिर बम पड्काए । पुलिसले मजदुर आन्दोलनमाथि गोली बर्सायो । यस दिन पाँच जना मजदुरको ज्यान गयो, ५० जना घाइते भए ।
मजदुरले मे १४ मा सरकार विरुद्ध हे मार्केटमा प्रदर्शन गर्ने घोषणा गरे र प्रदर्शन गरियो पनि । यो आन्दोलमा पनि व्यापक दमन गरियो । सात जना पुलिस र चार जना मजदुरको ज्यान गयो । सरकारले मजदुर नेतालाई हत्याराको बिल्ला भिराएर प्रतिक्रियावादी अदालतमा खडा गऱ्यो । मजदुर नेताहरू पार्सन, स्पाइस, फिसर र एङ्गेललाई फाँसीको सजाय सुनायो । यो घटनाले मजदुर आन्दोलन विश्वव्यापी बन्यो ।
१८८९ को जुलाईमा पेरिसमा २० ओटा मुलुकका ३९१ प्रतिनिधिको भेला सम्पन्न भयो । भेलाले विश्व सर्वहारा वर्गका महान् नेता फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा अन्तर्राष्ट्रिय मिहिनेतकश जनताको सङ्घ द्वितीय अन्तर्राष्ट्रिय गठन गरियो । मजदुर आन्दोलनको समीक्षा गर्दै यो द्वितीय अन्तर्राष्टियले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । यो अन्तर्राष्ट्रियमा कार्ल काउत्स्की, क्लारा जेटकिन, प्लखानोभ, बर्नस्टिनजस्ता प्रसिद्ध मजदुर नेताको उपस्थिति थियो ।
चार जना मजदुरलाई फाँसी दिएको चार वर्षपछि अमेरिकी सरकारले मजदुरको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग पूरा गर्न विवश भयो । यसरी मजदुरको महान् त्याग, बलिदानबाट प्राप्त ८ घण्टा काम, ८, घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग लागु भएको हो तर अहिले साम्राज्यवादी युगमा ती मागमा विभेद भएको छ । खुल्ला अर्थनीति वा उदारीकरणले एकाधिकार जमाउँदै गएको छ भने सीमित प्राप्त मजदुर हकअधिकार कुण्ठित हुँदै गएका छन् । ट्रेड युनियन अधिकार, श्रम ऐन लागु भएका छैनन् । तोकिएबमोजिम पारिश्रमिक छैन । ठेक्कापट्टाले गर्दा मजदुरको स्थायी जागिर छैन । स्थायी जागिर नभईकन राज्यबाट सुविधा पाउने कुरा पनि भएन । बोनस, आवास, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा कोषजस्ता श्रम ऐनले दिएका अधिकार १० प्रतिशत पनि लागि भएको छैन ।
श्रम गर्ने, रगतलाई पसिनामा परिणत गरेर उत्पादन गर्ने श्रमिक वर्गले रगतसित साटेर, फाँसीमा झुन्डिएर आएको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको अधिकार ग्यारेन्टी गरेका हुन् तर आज कुर्सीमा बस्ने, कलम चलाउने बौद्धिक वर्गलाई स्वर्ग भएको छ । जसले यो अधिकार स्थापित गरायो, त्यही वर्गमाथि विभेद गरिएको छ । यो पुँजीवादी व्यवस्थामा मजदुर–किसान हकहितको संरक्षण हुने छैन ।

