• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आठौँ महाधिवेशनको निर्णय कार्यान्वयन गर्न एकढिक्का बनौँ


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढा

    Advertisement

    संसारमा अनेक प्रकारका सिद्धान्त, आस्था र विश्वासका आधारमा थुप्रै पार्टीहरू निर्माण भएका छन् । ती भिन्न–भिन्न पार्टीहरू आफू सञ्चालन हुन सबैले आआफ्नै प्रकारका पार्टीपद्धति प्रयोगमा ल्याइरहेका हुन्छन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) पनि आफ्नै पार्टीपद्धतिमा अगाडि बढिरहेको छ । यसरी नेकपा (मसाल) ले अपनाउँदै आएको पार्टीपद्धति कुनै व्यक्तिविशेषले आफ्नो मर्जीले बनाएको पार्टीपद्धति होइन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

    नेकपा (मसाल) ले अपनाउँदै आएको पार्टीपद्धति माक्र्सवादी–लेनिनवादी सिद्धान्तको आधारमा अगाडि बढेको सङ्घर्ष र क्रान्तिको लामो अनुभवबाट विकसित भएको पार्टीपद्धति हो । यही पार्टीपद्धतिको आधारमा सोभियत सङ्घको कम्युनिस्ट पार्टीले रुसमा समाजवादी ध्वजा फहराउन सफल भएको थियो भने यही पार्टीपद्धति प्रयोगमा लिएर संसारका कैयौँ कम्युनिस्ट पार्टीहरूले सबैखाले प्रतिक्रियावादी शक्तिलाई हायलकायल पारेका थिए । आज पनि संसारका कैयौँ पार्टीहरूले यही पार्टीपद्धति अपनाएर अगाडि बढिरहेका छन् । नेपालमा यसखालको पार्टीपद्धति अपनाएर अगाडि बढ्ने कार्य नेकपा (मसाल) ले गर्दै आएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अपनाउँदै आएको यस प्रकारको पार्टीपद्धतिमा कैयौँ कार्यकर्ता किन लामो समयसम्म टिक्न सक्दैनन् र पार्टीलाई तथानाम गाली गर्दै पार्टीबाट बाहिरिने गर्दछन् ? नेकपा (मसाल) को इतिहासमा यो पटक–पटक उठ्दै आएको प्रश्न हो । नेकपा (मसाल) को २०७६ जेष्ठमा सम्पन्न आठौँ महाधिवेशनपछि पनि कतिपय नेता–कार्यकर्ताहरू पार्टीबाट बाहिरिने क्रम चलिरहेको छ र पुनः यिनीहरूले पनि अगाडिका साथीहरूले जस्तै पार्टीलाई तथानाम गालीगलौज गर्ने गरिरहेका छन् । साथीहरूका यस प्रकारका पार्टी विरोधी स्वरले आम सर्वसाधारणमा केही हदसम्म भ्रम पैदा गर्नु स्वाभाविक छ । यस प्रकारका भ्रमलाई चिर्न हामीले ती साथीलाई राम्ररी सम्झाउन, बुझाउन जरुरी छ ।

    हिजोआज पार्टी जिम्मेवारीबाट बाहिरिएका र कतिपय पार्टीभित्रै रहेका साथीहरूले पनि फेसबुक, अनलाइनलगायतका विभिन्न माध्यमबाट पार्टी विरोधी स्वर निकाल्न राम्रै अभ्यास गर्ने गरेको पाइन्छ । कैयौँ पार्टी विरोधी कायर व्यक्तिले त नक्कली फेसबुक आइडीको माध्यमबाट पार्टीका गोप्य सामग्री सार्वजनिक गर्नेजस्तो अत्यन्तै घृणास्पद र अक्षम्य अपराधसमेत गरिरहेका छन् । यसै सन्दर्भमा म ती साथीहरूलाई प्रश्न गर्न चाहान्छु, के साँच्चै पार्टी गलत भएको कारण तपाईहरूले यस्तो हर्कत गरिरहनुभएको छ ? के तपाईहरू एउटा पार्टीसदस्यले आत्मसात गर्नुपर्ने अधिकार, कर्तव्य र अनुशासन पालना गर्दागर्दै पनि पार्टी जिम्मेवारीबाट बाहिरिनुपरेको हो त ? तपाईहरूले पार्टीपद्धति पालना गर्दागर्दै, पार्टी बलियो बनाउने र पार्टीहित चिताउँदा–चिताउँदै पार्टीले तपाईहरूलाई जबरजस्ती हुत्याइदिएको हो त ? यदि त्यस्तै हो भने बाँकी हजारौँ कार्यकर्ताले अझै पनि पार्टीको झण्डा बोकिरहन कसरी सम्भव भइरहेको छ त ? के तपाईहरूबाहेकका ती हजारौँ कार्यकर्ता सबै निकम्मा र केही नबुझ्ने हुन् त ? के तपाईहरूले छातीमा हात राखेर यसको जवाफ दिन सक्नुहुन्छ ? मलाई लाग्छ, यसको जवाफमा तपाईहरूले नक्कली शब्दजालको खेती त गर्न सक्नुहोला, तर सच्चाइ बोल्न सक्नुहुने छैन ।

    यही पार्टी हो, जसले तपाईहरूलाई माक्र्सवाद सिकायो । दुई/चार जनाको अगाडि उभिएर आफ्नो परिचय दिँदा मुटुको ढुकढुकी बढ्ने तपाईहरूलाई हजारौँका अगाडि हात हल्लाई–हल्लाई भाषण गर्नसक्ने बनायो । यही पार्टी हो, जसले कवि, कलाकार, लेखक वा नेताको रूपमा समाजमा तपाईहरूको पहिचान बनाइदियो । यही पार्टीले तपाईहरूलाई जीवन जिउनका लागि सङ्घर्षको पाठ सिकायो । तपाईहरूका अवचेतन मनमा चेतन भरिदियो । पार्टीले तपाईहरूलाई जन्माएर हुर्काउँदासम्म पार्टीप्रति तपाईहरूको खासै गुनासो थिएन भन्दा पनि हुन्छ, बरु पार्टीका लागि तपाईहरूले थुप्रै योगदान दिएको हुन सक्छ । पार्टीका लागि तपाईहरूले थुप्रै पसिना बगाएको हुन सक्छ । कुनै कुनै पलमा त तपाईहरूले पार्टीका लागि आफ्नो ज्यानलाई हत्केलामा राखेर लडेको पनि हुन सक्नु हुन्छ । अनि, तपाईहरू आफै पनि पार्टीको फलामे अनुशासन निर्माणको लागि अमूल्य योगदान दिनुभएको पनि हुन सक्छ । यसरी पार्टीका लागि तपाईहरूले के–कति योगदान दिनुभएको छ, यो आफैले आत्मसमीक्षा गरेपछि तपाईहरू स्वयम्लाई अनुभुति हुने विषय भयो ।

    तर तपाईहरू आफैले भन्नुस त, पार्टीका लागि बगाएको तपाईहरूको यो पसिनाको मूल्यलाई किन सदावहार बनाउन सक्नुहुँदैन ? बेलाबेलामा किन तपाईहरूमा यसरी बैँसको उन्माद चल्ने गर्दछ ? हेर्नुस् साथी हो, यो बैँकिो उन्माद चलेको बेला हामी सम्हालिन सक्नुपर्दछ । यस्तो उन्मादको क्षणमा हामी सम्हालिन सकेनौँ भने हाम्रो गन्तव्यले सही लक्ष्य प्राप्त नगर्न पनि सक्दछ । यस्तै बैँसको उन्मादमा मदमत्त भएर बरालिएका विगतका धेरै साथीलाई हेर्नुस त, उहाँहरू अहिले कहाँ हुनुहुन्छ ? कतै तपाईहरू पनि क्रान्तिको नाममा त्यस्तै डम्पिङ साइडमा पुग्नलाई उत्प्रेरित त भइरहनु भएको छैन ? होइन भने हिजोका दिनमा जुन पार्टीले तपाईहरूलाई माक्र्सवादको पाठ सिकायो, पढायो र तपाईहरूलाई यो ठाउँमा उभिन सक्ने बनायो । उसैलाई खुइल्याउन यस्तो दुस्साहस किन गर्नुप-यो ?

    म यो कुरा स्वीकार्दछु कि पार्टी जीवनमा तपाईहरूका चित्त नबुझेका थुप्रै कुरा अवश्य होलान् । हरेक व्यक्तिमा त्यो हुन्छ नै । हिजोआज तपाईहरूले पार्टीलाई दक्षिणपन्थी भन्दै खुबसँग प्रचार गरिरहनुभएको छ । मानौँ, तपाईहरूको बुझाइमा यो पार्टी दक्षिणपन्थी भयो अरे अथवा यो पार्टी बिग्रियो अरे ! तर दक्षिणपन्थी भएको पार्टीलाई वामपन्थी भएको पार्टी बनाउन र बिग्रेको पार्टीलाई सुधार्नका लागि के तपाईहरूले सही तरिका अपनाइरहनुभएको छ त ? म एकचोटी तपाईहरूलाई निधार खुम्चाएर सोच्न अनुरोध गर्दछु । तपाईहरूका जस्तै पार्टीभित्रका हजारौँ कार्यकर्ताका अनेकौँ विचार छन् । तर ती विचार प्रकट गर्न पाउँदैनौ भनेर पार्टीले कसैलाई भनेको छैन । हजारौँ प्रतिभाले प्रतिस्पर्धा गर्न पाउने र हजारौँ फूलहरूले फुल्न पाउने अधिकार तपाई–हामी सबै कार्यकर्तामा सुरक्षित छ ।

    यो अधिकारलाई पार्टीले खोसेको अनर्गल प्रचारबाजीमा तपाईहरू किन लागिरहनुभएको छ ? यहाँसम्म कि पार्टीकै विरोध गर्ने मन भए पनि पार्टीले नगर कहिल्यै भन्दैन । तर पार्टीपद्धतिले यति मात्रै भन्दछ कि तिमीहरूले तिम्रा कुराहरू गर्ने ठाउँमा गर । तिम्रो जिब्रोलाई फलामे अनुशासनमा राख । एउटा कम्युनिस्ट पार्टीले यति भन्नु के गलत हो त ? साँच्चै तपाईहरूले पार्टीप्रति आस्था राख्नुहुन्छ भने तपाईहरूले पार्टीपद्धतिको यो कुरा बुझ्न किन तयार नहुने ? कि तपाईहरूले मार्तोभले भनेजस्तै सङ्गठनात्मक रूपले खुकुलो पार्टी मन पराउनु हुन्छ ? अथवा तपाईहरू पार्टी अनुशासन नमाने पनि हुने पार्टीसदस्य बन्न रुचाउनु हुन्छ ?

    एउटा कम्युनिस्ट पार्टीको सदस्यले त लेनिनले भनेजस्तै पार्टी अनुशासन मान्नैपर्ने हुनुपर्छ होला नि ! लेनिनले भनेजस्तै कुनै न कुनै सङ्गठनमा बसेर काम गर्नुपर्छ होला नि ! अनि, पार्टीको कार्यक्रमलाई मान्ने र पार्टीलाई आर्थिक सहयोग गर्ने हुनुपर्छ होला नि ! यस प्रकारको पार्टीपद्धतिलाई आत्मसात गर्न नसक्नेले पार्टी सिद्धियो, पार्टी बिग्रियो भनेर चिन्ता गरेको स्वाङ किन पार्नुप-यो ? अझ कैयौ स्थानमा त मोहनविक्रम सिंहले नेकपा (मसाल) सिद्धायोसम्म भन्न पछि पर्नुभएको छैन तपाईहरू ! म तपाईहरूलाई सम्झाउन चाहान्छु, कृपया तपाईहरूले नेकपा (मसाल) लाई मोहनविक्रम या कुनै एउटा व्यक्तिको बिर्ताको रूपमा बुझ्ने कमजोरी नगर्नुस् । नेकपा (मसाल) मा वर्षाैंदेखि पार्टीका हजारौँ नेता–कार्यकर्ता तथा पार्टी शुभचिन्तकको पसिना र योगदान मिसिएको छ । तसर्थ नेकपा (मसाल) मा महामन्त्री मोहनविक्रम सिंह र चित्रबहादुर केसीको जुन हक छ, त्यही हक एउटा कन्दराको सेलमा रहेर काम गरिरहेको पार्टी सदस्यको पनि छ ।

    त्यसैले पार्टी किन अपेक्षित रूपमा अगाडि बढ्न सकेन, पार्टी किन कमजोर भएको छ भन्ने सवालमा मोहनविक्रम सिंह वा अरू कुनै व्यक्तिविषेशलाई दोष दिएर तपाईहरू किन व्यर्थै भ्रम छर्ने कार्य गरिरहनुभएको छ ? पार्टी सिद्धाउने काम त यताउता सर्वत्र पार्टीको विरुद्धमा जिब्रो फट्कार्दै हिड्नेहरूबाट पो हुन्छ होला त ! पार्टी कमजोर त पार्टीको नीति कार्यक्रम र अनुशासन नमान्ने मान्छेबाट पो हुन्छ होला त ! पार्टी सिध्याउने काम त मुखुण्डो लगाएर पार्टीको गोप्यता सार्वजनिक गर्ने धन्दामा संलग्न सिआइडी प्रवृत्तिमा चलिरहेका व्यक्तिबाट पो हुन्छ होला त ! यस्तो काम तपाईहरूबाट भएको छ कि मोहनविक्रम सिंहबाट ? यो कुरा तपाईहरू आफैले आफ्नै मुटु छामेर हेर्न सक्नुहुन्छ ।

    तपाईहरूको नजर यति तलसम्म गिरिरहेको छ कि पार्टी नीति र अनुशासनलाई इमान्दारीतापूर्वक पालना गरिरहेका कार्यकर्तालाई समेत आसेपासे, पुजारी, चाटुकार आदि उपमा दिन पछि परिरहनु भएको छैन । सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको उपहास त तपाईहरू नै गरिरहनुभएको छैन र ? आज तपाईहरूले नक्कली नामबाट व्यर्थैको बकबास किन गरिरहनुभएको छ ? आज तपाईहरूले वास्तविक नामबाट पार्टीभित्र खुलेर बहस गर्नलाई किन मुटु कमाइरहनु भएको छ । किन तपाईहरू कुखुराको चल्लाको जस्तो सानो मुटु लिएर लुकीछिपी पार्टी विरोधी गतिविधिमा लागिरहनुभएको छ ? यदि तपाईहरू साँच्चिकै सही मानिस हुनुहुन्छ भने छाती चौडा पारेर पार्टीभित्र खुला बहसमा किन आउन सक्नुहुँदैन ?

    हेर्नुस् साथीहरू, तपाईहरूको यो कायरताले अर्थात् तपाईहरूको यो फेसबुकको नक्कली नामले तपाईहरूको खराबी र लाजलाई कदापि छोप्न सक्ने छैन भन्ने कुरा तपाईहरूले हेक्का राख्न जरुरी छ । यो पार्टीमा वर्षाैंदेखि पसिना बगाउँदै आएको एक इमान्दार पार्टी कार्यकर्ताको नाताले म दाबीसाथ भन्न सक्छु कि खासमा पार्टी सही छ । तर तपाईहरू गलत हुनुहुन्छ । तपाईहरूका बुझाइ गलत छ । तपाईहरूमा कुण्ठा छ, इष्र्या र वैमनस्यता छ । तपाईहरूको शरीर निम्न–पुँजीवादी प्रवृत्ति र महत्त्वाकाङ्क्षी रोगले गल्दै गइरहेको छ । म छिटोभन्दा छिटो तपाईहरूलाई यो रोगबाट मुक्त हुने उपायमा लाग्न सुझाव दिन चाहन्छु । तपाईहरूले जतिसुकै जालझेल र झुटको खेती गरेता पनि कसैले पत्याउनेवाला छैन । किनकि तपाईहरू गलत भएको कुरा नै सत्य हो । अनि, पार्टी सही भएकै कुरा नै सत्य हो । पार्टी सत्य र सही बाटोमा नै हिँडिरहेको छ भन्ने कुरा नेकपा (मसाल) को आठौँ महाधिवेसनको चित्रले पनि प्रष्ट पार्दछ ।

    नेकपा (मसाल) को इतिहासले आठौँ महाधिवेशनको चरण पार गरिसकेको छ । देशैभरिका पार्टीसदस्य मिलेर आठौँ महाधिवेशन सम्पन्न गरेका हुन । कुनै पनि पार्टीसदस्य यो महाधिवेशनमा आफ्ना विचार प्रकट गर्न तथा छलफलमा भाग लिनबाट बञ्चित भएका थिएनन् । हरेकले चुन्ने र चुनिने अधिकार उपयोग गरेका थिए । वास्तवमै यो आठौँ महाधिवेशनले उच्च जनवादको प्रयोग गर्न सफल भएको कुरा दिनको घामजस्तै छर्लङ्ग छ । यही महाधिवेशनको आदेशलाई शीरोधार्य गर्दै इमान्दार कार्यकर्ताहरू मैदानमा पसिना बगाइरहेका बेला केही नक्कली मित्रहरूले महाधिवेशनको खिल्ली उदाउँदै मुतको न्यानोमा सपना देखिरहनुभएको छ ।

    आज पार्टीले जेजति नीति तथा कार्यक्रम लागु गर्दै छ, त्यो देशभरिका सम्पूर्ण पार्टीसदस्यले तयार पारेको साझा नीति तथा कार्यक्रम हुन् । अब मैदानमा रहेका मसालका कार्यकर्ताहरू कोही अल्पमत र कोही बहुमत पक्षका छैनन् । सबै एउटै पक्षमा छन्, त्यो हो– मसाल पक्ष । तर पार्टीपद्धति स्वीकार्न नसक्ने केही साथीहरू महाधिवेशनले मेटाइसकेको अल्पमत र बहुमतको भावनालाई बोकेर आत्मरति लिइरहनुभएको छ । ए साथीहरू हो, म तपाईहरूलाई यस प्रकारका निरर्थक आत्मरतिमा नरमाउन सल्लाह दिन चाहन्छु । किनकि, नेकपा (मसाल) ले जन्मदेखि नै पार्टीपद्धतिमा बोल्सेभिक स्प्रित कायम गर्दै आएको छ ।

    तपाईहरूलाई थाहै होला, पार्टी महाधिवेशनका फैसला र पार्टी नियमावली उल्लङ्घन गर्ने तथा नमान्नेमाथि बोल्सेविक पार्टीले कस्तो तरिका अपनाउने गर्दथ्यो ? बोल्सेभिक पार्टीको इतिहास हे-यौँ भने देख्न सक्छौँ कि यस प्रकारले पार्टी कार्यक्रम तथा विचार नमान्ने र यसको विरोध गर्दै हिड्ने ट्राटस्की, जिनोभियेब, कामेनेभ, सोकोलिनकोभजस्ता व्यक्तिहरू अन्ततः रद्दीको टोकरीमा फ्याँकिएका थिए । नेकपा (मसाल) ले अपनाउने पार्टीपद्धति पनि यही हो ।

    त्यसैले पार्टीपद्धतिभन्दा बाहिर रहेर कसैले पनि कुकार्यको मार्गमा नहिडौँ । सबै साथीहरूले पार्टी पद्धतिमा रहेर पार्टी र क्रान्तिका निम्ति पसिना बगाऊ । हामी टुटफुट र विभाजनमा होइन, एकतामा रमाउने गरौँ । हामीले आफूलाई होइन, विरोधीलाई कमजोर बनाउने राजनीति गरौँ । हाम्रो पार्टीको सर्वाेच्च अङ्ग आठौँ महाधिवेशनले देखेको सपनालाई पूरा गर्न हामी सबै एकढिक्का बनौँ ।

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.