दाङ । गणतन्त्रको रक्षाका लागि राष्ट्रिय जनमोर्चाले वैशाखको अन्तिम सातामा पालिकास्तरीय कार्यक्रम गर्ने भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले २०८२ वैशाख १६ गते मङ्गलबार सो जानकारी दिनुभएको हो ।
कार्यक्रमअन्तर्गत २०६२–६३ को जनआन्दोलन अर्थात् गणतन्त्रप्राप्तिको आन्दोलनको दाङ जिल्लामा नेतृत्व गर्ने नेताहरू तत्कालीन राजमो दाङका अध्यक्ष भरत भण्डारी, नेपाली काङ्ग्रेस दाङका सभापति बिर्केश्वरी गौतम र नेकपा (एमाले) दाङका सचिव रेवतीरमण शर्मालाई एउटै मञ्चमा ल्याइने भएको छ ।
अहिले गणतन्त्र विरुद्ध आवाज उठिरहेको बेला गणतन्त्रप्राप्ति आन्दोलनमा नेतृत्व गरेका अगुवाको धारणा बुझ्न सो कार्यक्रम आयोजना गरिएको राजमो दाङले जनाएको छ ।
राजमो केन्द्रीय समितिको योजनाअनुसार वैशाख २० देखि हुन लागेको प्रतिगमनका विरुद्ध तथा गणतन्त्र रक्षाका लागि हुने कार्यक्रमअन्तर्गत वैशाख २७ गते घोराहीमा ‘वर्तमान राजनीतिक अवस्था र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तक्रिया गरिने भएको छ ।
त्यस्तै, लमहीमा वैशाख २१ गते, गढवामा २२ गते, राप्तीमा २३ गते, बङ्गलाचुलीमा २४ गते, तुलसीपुरमा २५ गते, दङ्गिशरण, शान्तिनगर र बबईमा २६ गते र राजपुरमा २८ गते प्रतिगनमा विरुद्ध सभाका हुनेछन् ।