काठमाडौँ । नेकपा (मसाल) ले शिक्षक आन्दोलनमाथि गरेको दमनबाट सरकार देशप्रति नै अनुत्तरदायी पुष्टि भएको निष्कर्ष निकालेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख १५ गते प्रेसवक्तव्य जारी गर्दै पार्टीले आफ्नो सो धारणा सार्वजनिक गरेको हो ।
शिक्षक आन्दोलन सम्पूर्ण देश र जनताको भविष्यसित सम्बन्धित रहेको बताउँदै पार्टी उनीहरूको माग यथाशीघ्र पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
त्यस्तै, पोखरा विमानस्थल भ्रष्टाचारको प्रसङ्गमा पार्टीले त्यसका विरुद्ध देशव्यापी रूपमा उच्च सतर्कता अपनाउनुपर्ने धारणा राखेको छ ।
भारतको कस्मिर पहलगामको आतङ्कवादी घटनाबारे पार्टी केही विस्तृतमा आफ्नो धारणा राखेको छ । कस्मिर घटनाको समाधान संयुक्त राष्ट्र सङ्घको मध्यस्ततामा तय भइसकेको नीतिबाट हुने बताउँदै पार्टीले त्यसका विपरीत भारत वा पाकिस्तानले एटम बम प्रयोग गरेमा त्यसको विश्वव्यापी असर पर्ने चेतावनी दिइएको छ ।
कस्मिर मामिलामा हिन्दुको हत्या भएको पूर्व राजाको धारणामा पार्टीले प्रतिगामी षड्यन्त्र लुकेको बताएको छ । पाकिस्तान दूताबासअघि त्यस विषयलाई लिएर भएको प्रदर्शनलाई पार्टीले राजावादीमा चैत १५ गतेको घटनाको सन्दर्भमा देखा परेको निराशासित जोडेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“शिक्षकमाथि सरकारले गरेको कुटपिटलाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिन्छ र त्यसका लागि सरकारको कडा शब्दमा भर्त्सना गर्दछ । त्यसले सरकारको गैरजिम्मेवार चरित्रलाई बताउँछ । त्यो घटनाबाट खालि शिक्षकका माग पूरा गर्ने प्रश्नमा मात्र होइन, सम्पूर्ण देशको लागि नै वर्तमान सरकार अत्यन्त अनुत्तरदायी भएको देखिन्छ ।
यो सामान्य कुरा होइन कि शिक्षकहरूले हजारौँको सङ्ख्यामा राजधानीमा आएर आन्दोलन गर्दैछन् । पहिले उनीहरूले पालिका तहबाट सुरु गरेर प्रदेश तह हुँदै राजधानीमा आएर आफ्नो आन्दोलन सुरु गरेका हुन् । राजधानीमा पनि उनीहरूले प्रदर्शन सुरु गरेको पुगनपुग एक महिना भइसक्यो । त्यो अवस्थामा सरकारले उनीहरूका माग पूरा गर्नुको सट्टा उनीहरूप्रति दमनको नीति अपनाउँदैछ । हाम्रो पार्टीले उनीहरूका मागलाई शीघ्र पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
शिक्षकका माग सही र न्यायपूर्ण छन् । उनीहरूका माग त्यो सहमतिमाथि नै आधारित छन्, जो पहिले शिक्षक र सरकारका बिचमा भएको थियो । अहिलेको आन्दोलनको जुन स्थिति पैदा भएको छ, त्यो सरकारले स्वयम् गरेको सम्झौताअनुसार ऐन नबनाएको हुनाले नै उत्पन्न भएको हो । सरकारले कतिपय विरोधी पक्षले उचालेको हुनाले नै शिक्षकहरू आन्दोलनमा उत्रेको बताइरहेको छ । त्यस प्रकारको आलोचना पूरै गलत छ । जस्तो कि माथि भनियो, शिक्षकहरूले विरोधी पार्टीले उचालेर होइन, पालिका तहदेखि नै उनीहरूले आफ्ना माग उठाउँदै आएका छन् र विभिन्न विरोधी पक्षले उनीहरूका न्यायपूर्ण मागलाई नै समर्थन गरिरहेका छन् । सरकारले शिक्षकलाई विरोधी पक्षसित जोडेर आफ्नो गैरजिम्मेवार चरित्रमाथि पर्दा हाल्ने प्रयत्न गरिरहेको छ । सरकारको त्यस प्रकारको चरित्रले गर्दा खालि शिक्षकबारे मात्र होइन, देशको सम्पूर्ण स्थिति र भविष्यबारे पनि गम्भीर आशङ्का उत्पन्न भएको छ । त्यसबारे गम्भीर हुन हाम्रो पार्टीले सम्पूर्ण देशभक्त र न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
पोखरा विमानस्थलको निर्माणबारे करिब १० अर्ब रुपियाँ भ्रष्टाचार भएको तथ्य संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले बाहिर ल्याएको छ । त्यो समाचारप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । कुरा यो मात्र होइन कि त्यो अत्यन्त ठुलो पैमानाको भ्रष्टाचार हो, त्यससित सम्बन्धित त्योभन्दा ठुलो र गम्भीर कुरा यो हो कि त्यो घटनाले देशमा भ्रष्टाचारले कति गहिरो जरा हालेको छ ? त्यो कुरालाई उदाङ्गो बनाउँछ । त्यस प्रकारको भ्रष्टाचारमा संलग्न उच्च अधिकारी र उच्च राजनीतिक नेतामाथि निष्पक्ष र उच्चस्तरीय छानबिन र कारबाही हुनु ता आवश्यकता छ नै तर विद्यमान भ्रष्ट प्रणालीमाथि ध्यान दिँदा त्यो कारबाही पनि कहाँसम्म हुनेछ ? त्यो कुरामा शङ्का नै छ । पोखराको विमानस्थल भ्रष्टाचार काण्डबाट प्रशासन र उच्च राजनीतिक तहमा व्याप्त त्यस प्रकारका भ्रष्टाचारले गर्दा नै देशको विकास हुन नसकेको कुरा प्रस्ट भएको छ । त्यो अवस्थामा भ्रष्टाचारका विरुद्ध उच्च जनचेतना उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
कस्मिरको पहलगामको हिंसात्मक घटनापछि भारत र पाकिस्तानका बिचमा गम्भीर प्रकारको तनावको स्थिति उत्पन्न भएको छ र त्यहाँ युद्ध हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यस सन्दर्भमा भारतले पाकिस्तान र भारतका बिचमा भएको सिन्धु जलसन्धि खारेज गर्ने घोषणासमेत गरेको छ । स्थानीय रूपमा भएको एउटा घटनाका लागि पाकिस्तानका लाखौँ जनताको जीवनसित सम्बन्धित सम्झौतालाई खारेज गर्नु अवश्य पनि सही होइन र त्यो चरम प्रकारको अमानवीय कार्य हो । त्यसका पछाडिको मोदीको उद्देश्य पाकिस्तानका विरुद्ध उग्रराष्ट्रवादी वा हिन्दुवादी भावना पैदा गरेर भारतमा आफ्नो राजनीतिक स्थिति मजबुत पार्ने तथा छिट्टै हुन थालिरहेको विहारको चुनावलाई प्रभावित गर्ने उद्देश्यले पनि काम गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
त्यस सिलसिलामा पाकिस्तानले भारतका विरुद्ध एटम बम प्रयोग गर्ने धम्की पनि दिन थालेको छ । भारत र पाकिस्तान दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् । उनीहरूका बिचमा आणविक युद्ध भएमा त्यसको असर खालि ती दुई देशसम्म मात्र सीमित रहने छैन तर आणविक युद्धको कुरा गर्न जति सजिलो छ, त्यति सजिलो त्यसलाई सुरु गर्नु अवश्य पनि सजिलो छैन । जे होस्, बिनाएटम बम पनि, जस्तै कि गत कालमा कैयौँ पल्ट हुने गरेको छ, ती दुई देशका बिचमा युद्ध सुरु भयो भने त्यसको असर सम्पूर्ण दक्षिण एसियामा र केही हदसम्म पूरै विश्वमा पनि पर्नेछ ।
पहलगामको घटना सामान्य आतङ्कवादी घटना मात्र होइन । भारतबाट अङ्ग्रेज गएपछि भारत र पाकिस्तान दुईओटा देश बने । कस्मिरको प्रश्नलाई लिएर पाकिस्तान र भारतको बिचमा युद्ध भयो । संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा कस्मिरमा जनमत सङ्ग्रह गराउने, उनीहरू भारत र पाकिस्तानमध्ये कुनमा मिल्न चाहन्छन् वा स्वतन्त्र हुन चाहन्छन् ? त्यो कुराको स्वयम् कस्मिरका जनतालाई नै फैसला गर्न दिने निर्णय भएको थियो । भारत र पाकिस्तान दुवै त्यसका लागि सहमत भएका थिए तर पछि भारतले त्यो फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गऱ्यो र सम्पूर्ण कस्मिरमा आफ्नो अधिकार भएको दाबी गऱ्यो । भारतको त्यस प्रकारको नीतिका कारणले नै गत करिब साढे सात दशकदेखि कस्मिर अशान्त छ । त्यहाँका जनताले संयुक्त राष्ट्र सङ्घमा भएको सहमतिअनुसार जनमत सङ्ग्रह माग गर्दछन् र त्यसका लागि आन्दोलन गरिरहेका छन् ।
पहिले कस्मिरलाई स्वायत्त शासनको अधिकार दिइएको थियो । पछि मोदी सरकारले त्यो अधिकारलाई पनि समाप्त गरेर त्यसलाई पूरै भारतीय सङ्घमा सामेल गऱ्यो । त्यो कारणले पनि त्यहाँका जनतामा धेरै नै असन्तोष बढिरहेको छ । भारतले उनीहरूको आन्दोलनलाई आतङ्कवादी गतिविधि बताउँछ र शक्तिद्वारा त्यसलाई दबाउने कोसिस गर्दै आएको छ । यो सत्य हो कि काश्मिरमा कैयौँ आतङ्कवादी सङ्गठनहरू पनि छन् र उनीहरूले आतङ्कवादी तरिकाहरू अपनाएर निर्दोष जनताको पनि हत्या गर्ने गर्दछन् । निश्चित रूपले पहलगामको हिंसात्मक घटना एउटा आतङ्कवादी घटना नै थियो किनभने त्यहाँ निरपराध र निःशस्त्र जनताको हत्या गरिएको थियो, जसमा कस्मिरमा घुम्न गएका एक जना नेपालीको पनि हत्या गरिएको थियो ।
कस्मिरको समस्याको समाधान एउटै तरिकाले हुन सक्दछ : संयुक्त राष्ट्र सङ्घमा भएको सम्झौताअनुसार त्यहाँ जनमत सङ्ग्रह गराएर त्यहाँका जनतालाई आफ्नो भाग्यको फैसला गर्ने अधिकार दिनुपर्छ । कस्मिरबारे भारतले जुन नीति अपनाएको छ, त्यो साम्राज्यवादी नीति हो ।
पहलगामको घटनापछि भारत र पाकिस्तानका बिचमा पैदा भएको धमिलो पानीमा पूर्व राजाले “हिन्दुकरण” को कार्ड फ्याँकेर माछा मार्ने प्रयत्न गरेका छन् । यो बुझ्न गाह्रो पर्दैन कि त्यसका पछाडिको उनको उद्देश्य आफूलाई पक्का हिन्दुवादी र मोदीको हिन्दुवादी नीतिको पक्षमा भएको देखाएर नेपालमा राजतन्त्रको पुनर्स्थापनाका लागि भारतका कट्टर हिन्दुवादी शासक वर्गको अनुग्रह प्राप्त गर्नु नै हो । त्यसैले उनले पहलगाममा भएको हत्याकाण्डलाई हिन्दुमाथि भएको हत्याकाण्ड भनेर त्यसलाई हिन्दुकरण गर्ने प्रयत्न गरेका छन् । भारतका मोदीले हिन्दुस्तानका प्रत्येक घटनालाई हिन्दुत्वको रङ दिने प्रयत्न गर्दछन् र त्यही प्रकारले पूर्व राजाले पनि आफूलाई पक्का हिन्दुवादीको रूपमा प्रस्तुत गरेर मोदीको समर्थनद्वारा नेपालमा राजतन्त्रको पुनर्स्थापनाको सपना पूरा गर्न पासा फ्याँकेका छन् । पूर्व राजाको त्यो नीतिअनुसार नै राजावादीले पाकिस्तानको काठमाडौँस्थित राजदूतावासका अगाडि पहलगाममा हिन्दुको हत्या भएको बताएर विरोध प्रदर्शन पनि गरेका छन् । राजावादीको त्यस प्रकारको प्रयत्नले नेपालमा राजतन्त्रको पुनर्स्थापनाका लागि उनीहरूले बारम्बार गरेका प्रयत्न, जसमध्ये चैत १५ गतेको तोडफोड र आगलागीसमेतको हिंसात्मक कारबाही पनि आउँछ, को असफलतापछि उनीहरूमा पैदा भएको निराशालाई नै बताउँछ ।”