भद्रपुर । काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका हुन ।
घाइतेको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते हुनुभएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो, जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।
‘म ड्राइभरको सिट पछाडि नै थिएँ’ घाइते शिक्षक भण्डारीले भन्नुभयो– ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटो छिटो उद्धार गरेर बाहिर निकालेँ ।’
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।
घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उहाँले बताउनुभयो । (रासस)