काठमाडौँ । ३८ वर्षअघि एक महिलालाई भारतको मुम्बईको बेश्यालयमा लगेर बेचेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साविक भोटेनाम्लाङ गाविस–४ हाल पाँचपोखरी थङपाल गाउँपालिका–७ खोङ्गेका चमारे भन्ने ६७ वर्षीय चमार तामाङ रहेका छन् ।
तामाङले २०४४ सालमा एक महिलालाई मुम्बईको बेश्यालयमा बेचविखन गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङ समेतले काठमाडौँ चाबहिलस्थित गलैँचा बुन्ने कारखानामा काम गरिरहेकी एक महिलालाई यो काम गर्दा टीबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौँ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४साल पुस १९ गते काठमाडौँबाट दिल्ली हुँदै मुम्बई पुर्याएका थिए।
मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठी नं. ७ मा पुर्याई उनीहरूले भारतीय रुपैयाँ ८० हजारमा ती महिलालाई बेचबिखन गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।
उक्त वेश्यालयमा जबरजस्ती ७ वर्षसम्म वेश्यावृत्तीको काममा लगाउने क्रममा टीबी रोग लागेपछि २०५१ साल माघमा उनी नेपाल फिर्ता आएकी थिइन्।
तत्पश्चात पीडितले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा २०५२ फागुन १ गते जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएकोमा फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा दर्ता भएको थियो।
२०७७ सालमा अपराध अनुसन्धान ब्युरोले उक्त मुद्दाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।
फरार व्यक्तिहरूको खोजतलास गर्ने क्रममा ब्युरोबाट खटिएको प्रहरी टोलीले तामाङलाई यही वैशाख ११ गते उनकै घर वतनबाट पक्राउ गरेको हो।
तामाङविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिन को म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।