काठमाडौँ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सामन्त हिँडेको बाटो किन हिँडेको भनेर आम जनतालाई भनिने गरेको समयमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको स्मरण गर्नुभएको छ ।
लेनिनको एक सय छप्पन्नौँ जन्मजयन्ती तथा नेकपाको सतहत्तरौँ स्थापना दिवसको अवसरमा नेकपा (मसाल) ले २०८२ वैशाख ९ गते आयोजना गरेको कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
२००६ सालतिरको अवस्थाको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘सामन्त हिँडेको बाटो किन हिँडेको भनेर आम जनतालाई हकार्ने बेलामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।’
कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा पहिला नेपाली काङ्ग्रेसको स्थापना भएको बताउँदै उहाँले नेपाली काङ्ग्रेसको राष्ट्रियतासम्बन्धी गलत नीतिका कारण कैयौँ काङ्ग्रेस समर्थक नेकपामा प्रवेश गरेको बताउनुभयो ।
मन्तव्यको क्रममा उहाँले इतिहास स्मरण गर्नुभयो– ‘काङ्ग्रेसले भारतको विहारमा सम्मेलन नै गरेर नेपाललाई एउटा प्रान्तको रूपमा भारतमा सामेल गर्नुपर्छ भन्ने प्रस्ताव पारित गरेको थियो ।’
कार्यकारी अध्यक्ष नेपालीले नेपाललाई भारतमा गाभ्ने नेहरू डक्ट्रिन अझै पनि यथावत् रहेको बताउनुभयो ।
यता, कम्युनिस्ट पार्टीको सन्दर्भमा उहाँले नेकपाको प्रारम्भिक कालमा लेनिनवादी सङ्गठनात्मक पद्धति आत्मसात गर्ने काम नभए पनि दार्शनिक रूपमा भने केही स्पष्ट रहेको बताउनुभयो ।
निरङ्कुश पञ्चायती कालको कठिन परिस्थितिमा पनि कम्युनिस्टमा अध्ययन संस्कृति राम्रो रहेको उहाँको भनाइ थियो ।
‘हाम्रो झोलामा एउटा पुस्तक र टर्चलाइट अनिवार्य रूपमा हुन्थ्यो’ उहाँले भन्नुभयो–’हामी बास बस्ने घरमा यदि बत्ती नभए हामीले त्यही टर्चलाइटको भरमा अध्ययन गर्दथ्यौँ ।’
नेपालमा सहजै पुस्तक पाइने अवस्था नरहेको स्मरण गर्दै उहाँले भारतबाट पुस्तक मगाउने गरेको बताउनुभयो ।
सबै पुस्तक नपाइए पनि आजभोलि नेपालमै पुस्तक पाइन्छन् तर अध्ययन गर्ने बानी बिग्रँदै गएको छ’ उहाँले भन्नुभयो ।
अध्ययन गर्ने बानी हट्दा पार्टीको वैचारिक स्तर कमजोर भएको उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालीले भन्नुभयो–’अध्ययन संस्कृतिको अभावका कारण दार्शनिक रूपमा समस्या देखिएको छ । लेनिनवादी सिद्धान्त नबुझेकै कारणा कैयौँ साथीहरू हामीबाट बाहिर गएका छन् ।’
उहाँले यतिखेर सत्तामा पुगेका कम्युनिस्ट नामका पार्टीको चिन्तन र क्रियाकलापका कारण देशको अवस्था यस्तो रहेको बताउनुभयो ।





