काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले साम्राज्यवाद विरोधी सिद्धान्त लेनिनको नयाँ योगदान भएको धारणा व्यक्त गर्नुभएको छ ।
लेनिनको एक सय छप्पन्नौँ जन्मजयन्ती तथा नेकपाको सतहत्तरौँ स्थापना दिवसको अवसरमा नेकपा (मसाल) केन्द्रीय कार्यालयले २०८२ वैशाख ९ गते आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले भन्नुभयो– ‘जनवादी केन्द्रीयताजस्तै लेनिनको अर्को मुख्य र नयाँ योगदान भनेको साम्राज्यवाद विरोधी स्पष्ट र सुसङ्गत अवधारणा पनि हो ।’
लेनिनले पुँजीवादको उच्च चरणको रूपमा साम्राज्यवाद सुसङ्गत व्याख्या गरेको धारणा रेग्मीको थियो ।
उहाँले लेनिनको सिद्धान्तअनुसार यतिखेर पुँजीवाद हार्ने अवस्थामा रहेको दाबी गर्नुभयो ।
‘पुँजीवादमा उतारचढाव भइरहन्छ । पुँजीवाद कहिले मुनाफाको उच्च चरणमा रहन्छ त कहिले मन्दीमा रहन्छ’ उहाँले भन्नुभयो– ‘अहिले पुँजीवाद हार्ने चरणमा छ ।’
मन्तव्यको क्रममा उहाँले लेनिनको जन्मदिन पारेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुनुबाट लेनिनलाई नेपालका कम्युनिस्टले उच्च महत्त्व दिएको पुष्टि हुने दाबी गर्नुभयो ।
गणतन्त्र स्थापना र त्यसको रक्षाको सवालमा लेनिनबाट सिक्न सकिने उहाँको धारणा थियो ।
‘सामन्तवादको अन्त र पुँजीवादको स्थापनाको क्रममा प्रतिगमन विरुद्ध लड्ने कुरा लेनिनले रुसको सन्दर्भमा पनि उल्लेख गर्नुभएको थियो’ उहाँले नेपालको सन्दर्भलाई रुससित जोड्दै भन्नुभयो ।
देशको तात्कालिक राजनीतिक परिस्थितिबारे उहाँले अहिले राजतन्त्र पुनर्स्थापनाको खतरातर्फ ध्यानकेन्द्रित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।