दाङ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाले राजनीतिक परिवर्तनका लागि रणनीति र कार्यनीतिमाझ उचित तालमेल आवश्यक रहेको बताउनुभएको छ ।
एक सय छप्पनौँ लेनिन जन्मजयन्ती तथा सतहत्तरौँ पार्टीस्थापना दिवसको अवसरमा दाङमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले भन्नुभयो– ‘कुनै पनि देशको राजनीतिक परिवर्तन वा क्रान्तिका लागि रणनीति र कार्यनीतिमाझ सही तालमेल हुनु आवश्यक छ ।’
रणनीति र कार्यनीतिको माझमा उचित तालमेल कम्युनिस्ट पार्टीले मात्रै मिलाउन सक्ने बताउँदै उहाँले यससम्बन्धी सही व्याख्या लेनिनले गरेको स्पष्ट पार्नुभयो ।
‘यही नै लेनिन र कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण कुरा हो’ उहाँले मन्तव्यको क्रममा कम्युनिस्ट व्यवस्था र लेनिनले विकास गरेको विचार र सिद्धान्तबारे विस्तृत रूपमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशिनाथ पोखरेल, अप्फाका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, अप्फाका केन्द्रीय सदस्य विष्णु आचार्य, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय सदस्य मनिराम खनाल, शिक्षक सङ्घ दाङका कोषाध्यक्ष रामकृष्ण पौडेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य सेवक भट्टराई, सहिद परिवारका ङनुकान्त आचार्य, युवक सङ्घ दाङका उपाध्यक्ष लेखराज आचार्य र समता समाज दाङका सहसचिव पोषण नेपालीले मन्तव्य राख्नुभएको थियो ।
राजमो दाङको आयोजनामा अगाडि बढेको उक्त कार्यक्रममो अध्यक्षता केन्द्रीय सदस्य तथा दाङ जिल्लाका अध्यक्ष गणेश आचार्यले गर्नुभएको थियो ।
उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव बसन्तराज पौडेलले गर्नुभएको थियो ।
