काठमाडौँ । पछिल्लो समयमा गणतन्त्र विरोधी प्रतिगामी गतिविधि तीव्र बन्दै जाँदा छ महिला सङ्गठन त्यसको विरुद्धमा एकजुट भएका छन् ।
२०८२ वैशाख ८ गते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट हुने सङ्कल्प व्यक्त गरेका हुन् ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा महिलाको ठुलो योगदान भएको बताउँदै विज्ञप्तिमा सो आन्दोलनको परिणामस्वरूप केन्द्रीय, प्रदेश र स्थानीय तहमा महिलाको प्रतिनिधित्व कायम हुँदै गएको उल्लेख छ ।
उनीहरूले वक्तव्यमा देशमा अझै पनि सामन्तवादी सामाजिक सांस्कृतिक अवशेष यथावत् रहेकाले समानता, समतामूलक समाज निर्माण, महिला हिंसा, कुप्रथा, हत्या, अपहरण, बलात्कारजस्ता विकृतिका विरुद्ध आफूहरू लडिरहेको बताइएको छ ।
पछिल्लो समयमा जनआन्दोलनको उपलब्धि उल्ट्याउन पश्चगामी तत्त्वहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ । यस सन्दर्भमा विज्ञप्तिमा चैत १५ गतेको घटनाको उल्लेख गरिएको छ ।
जनताले आर्यघाटमा पुऱ्याइसकेका प्रतिगामीहरू पुनः सलबलाउन थालेको उल्लेख गर्दै विज्ञप्तिमा प्रतिगामी राजावादी विरुद्ध लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासमा लाग्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
विज्ञप्तिमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष टुकाभद्र हमाल, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घ (समाजवादी) की अध्यक्ष जयन्ती राई र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दको हस्ताक्षर रहेको छ ।
