केरसिंह अदै, तौलिहवा ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गणतन्त्रको रक्षाका लागि एकहप्ते कार्यक्रम घोषणा गरेको छ ।
केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख उपस्थितिमा २०८२ वैशाख ८ गते सोमबार जितपुरमा सम्पन्न जिल्ला समितिको बैठकले सो कार्यक्रम तय गरेको हो ।
सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलन सफल पारेसँगै देशभरि वैशाख २० देखि २६ गतेसम्म घोषणा गरेको कार्यक्रमअन्तर्गत कपिलवस्तुमा पनि उक्त कार्यक्रम घोषणा गरिएको राजमोले जनाएको छ ।
नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्री को अध्यक्षता बसेको बैठकले जिल्लाव्यापी सङ्घर्षको कार्यक्रम घोषणा गरिएको छ ।
कार्यक्रमअनुसार, वैशाख २० गते ४ नं. जितपुरमा कार्यक्रमको उद्घाटन हुनेछ भने २० गते नै बुद्धभूमिको भेलाईमा कार्यक्रम हुनेछ ।
वैशाख २१ गते शिवराज नगरपालिकाको चन्द्रौटामा र विजयनगर गाउँपालिकामा कार्यक्रम सम्पन्न हुनेछ ।
वैशाख २२ गते कृष्णनगर र महाराजगञ्ज कार्यक्रम हुनेछ ।
वैशाख २३ गते मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकामा कार्यक्रम हुनेछ ।
त्यसैगरी, २४ गते शुधोधन गाउँपालिकामा हुनेछ भने वैशाख २६ गते तौलिहवामा जुलुस प्रदर्शनसहित कार्यक्रम समापन गरिनेछ ।
बैठकमा राजधानीकेन्द्रित आन्दोलनको मूल्याङ्कन गर्दै आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने, कार्यक्रम सफल पार्न खट्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।
बैठकले शिक्षकको काठमाडौँकेन्द्रित आन्दोलनलाई समर्थन गरेको छ ।
‘बैठकले वैशाख ९ गते सतहत्तरौँ नेकपाको पार्टीस्थापना दिवस र एक सय छप्पनौँ लेनिनजयन्ती गोरुसिङ्गेमा मनाउने निर्णय गरिएको छ’ मसालका प्रवक्ता माधव भाटले भन्नुभयो– ‘वैशाख १८ गते अन्तर्राष्ट्रिय मेदिवस अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को ब्यानरमा चन्द्रौटामा मनाउने निर्णय गरिएको छ ।’
पाठक मञ्च पनि
बैठकले जिल्लामा शशि सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय प्रगतिशील पाठक मञ्च गठन गरेको छ ।
समितिमा केरसिंह अदै, मीना पोख्रेल, हिमलाल बेल्बासे र रामप्रसाद बेल्बासे रहनुभएको जानकारी दिइएको छ ।