मेघराज भट्टराई ##
नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक संरचना पछिल्ला केही दशकमा तीव्र गतिमा परिवर्तन भइरहेको छ । एक समय थियो, जब दशैँजस्ता पर्वमा मान्यजनको आशीर्वादस्वरूप सुनिन्थ्यो– ‘दुबोझैँ गजाऔँ, पातीझैँ मौलाऔँ, तीन कन्या पाँच पुत्रका धनी होऔँ, सन्तानले डाँडाकाँडा ढाकुन, कासझैँ फुल, बाँसझैँ नुग ।’
यी शब्द केवल संस्कारका प्रतीक थिएनन्, ती जीवनशैली, सामाजिक संरचना र सांस्कृतिक दर्शनका प्रतिबिम्ब थिए तर समयले नयाँ मोड लियो । संसार बदलिँदै थियो । नेपाल पनि त्यसैको प्रभावमा पर्न पुग्यो ।
विशेषगरी पञ्चायती शासनको अन्त्यतिर अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ.) र संयुक्त राष्ट्र सङ्घका कार्यक्रम नेपालमा भित्रिए । “सानो परिवार, सुखी परिवार”, “दुई सन्तान—ईश्वरको वरदान” जस्ता नारामार्फत नवउदारवादी सोचले समाजमा गहिरो प्रभाव पाऱ्यो । यी नाराका पछाडि जनसङ्ख्या नियन्त्रण भन्ने मुख्य उद्देश्य थियो तर यसको दीर्घकालीन असर नेपालका लागि गम्भीर सावित भयो । शिक्षित वर्ग, सहरी मध्यमवर्ग र कार्यक्षम उमेरका मानिस दुई सन्तानमै सीमित भए । त्यो पनि धेरैजसो महिलाहरू शल्यक्रियामार्फत् सुत्केरी हुन थाले । खानपानको असर, शारीरिक श्रमको अभाव र अस्वस्थ जीवनशैलीले महिलाको प्राकृतिक प्रजनन् क्षमतामा गिरावट आएको छ ।
यसैबिच, नेपालमा कृषि र पशुपालन प्रणालीमा विदेशी हस्तक्षेप भयो । युएसएडलगायत संस्थाहरूले आधुनिक बिउबिजन, मलखाद र प्रविधिको नाममा रैथाने बिउबिजनलाई विस्थापित गरे । बाख्रा, गाई, भैँसी, कुखुराजस्ता पशुपालन प्रणाली क्रमशः लोप हुँदै गए । हामीले हाम्रो मौलिक कृषिप्रणाली, आहार संस्कृति र जीवनशैली गुमाउँदै गयौँ ।
उद्योग एकपछि अर्को गरेर बन्द हुँदै गए । श्रमिकलाई देशमा रोजगारीको अवसर नपुगेपछि मलेसिया, खाडी मुलुक, युरोप, अमेरिका, अस्ट्रेलियातर्फ विदेशिन थाले । के साँच्चै यो हाम्रो नीतिनिर्माताको कमजोरी थिएन ? के हामीले आत्मनिर्भरताको मोडल बनाउन नसकेको दोष केवल समयलाई दिन सकिन्छ ? यो देशमा उद्योग, कृषि, जलविद्युत्, पर्यटन र खनिजको अपार सम्भावना थियो तर हामीले आत्मनिर्भर विकास मोडल बनाउन सकेनौँ । भूमिसुधारको कुरा उठे पनि वास्तविक भूमिहीन किसानको हातमा जमिन पुग्न सकेन । उत्पादनमा जनताको पहुँच सुनिश्चित गर्ने नीति केवल नारामा सीमित रह्यो ।
शिक्षाप्रणालीले देशप्रेम, सिप र श्रमको सम्मान दिन सकेन । युवाहरू डाक्टर, इन्जिनियर बन्ने दौडमा लागे तर सिपमूलक, कृषियुक्त र उद्यमशील शिक्षाप्रणाली कमजोर हुँदै गयो । गाउँघर सुनसान भए, खेतबारी बाँझिए र समथर भूमि घरघडेरीमा परिणत भयो तर ती घडेरी किन्न सक्ने जनसङ्ख्या नै घटिरहेको छ ।
अहिलेको कठोर यथार्थ के हो भने जन्मदर घट्दो क्रममा छ । युवा विदेश पलायनमा छन् । कृषि र उद्योग धरासायी छन् । श्रमशक्ति विदेशी नागरिकमा भर परेको छ र देशको सामाजिक संरचना कमजोर हुँदै गइरहेको छ । नेपालको घट्दो जनसङ्ख्या केवल पारिवारिक सोचको परिणाम होइन, यो एक समग्र प्रणालीगत असफलताको द्योतक हो । जबसम्म हामी आत्मनिर्भर विकास मोडल निर्माण गर्दैनौँ, श्रमशक्ति र सिप देशभित्रै परिचालन गर्न सक्दैनौँ, तबसम्म नेपालीको अस्तित्व आफ्नै भूमिमा सङ्कटमा पर्नेछ । अब समय आएको छ, हाम्रो माटो, हाम्रो संस्कृति, हाम्रो श्रम र हाम्रो बुद्धिमत्ताअनुसारको विकासको बाटो पहिल्याउने नत्र भविष्यमा हामी आफ्नो गाउँघर त के, आफ्नो देशमै नेपाली खोज्नुपर्ने दिन आइपुग्न सक्छ ।