काठमाडौँ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ । अर्का एक व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–९ निवासी २६ वर्षीय मिनबहादुर तामाङको मृत्यु भएको धादिङ प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।
शनिबार साँझ ५ः२० बजे तिर बा.प्र.०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।
सो सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेनिघाट, प्रहरी चौकी जोगीमाराका साथै गजुरीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले खोजी गर्दा तामाङ नदी किनारमा फेला परेका थिए ।
उनलाई उपचारका लागि गजुरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकललाई घटनास्थलबाट निकालेर इलाका प्रहरी कार्यालय बेनिघाटमा राखिएको छ।
मोटरसाइकलमा सवार अर्का एक जना बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोरले खोजी गरिरहेको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।