काठमाडौँ । वैज्ञानिकहरूले पृथ्वीभन्दा धेरै टाढा एउटा तारालाई परिक्रमा गरिरहेको ग्रहमा जीवन रहेको हुन सक्ने नयाँ सङ्केत फेला परेको दाबी गरेका छन् ।
केटु–१८बी ग्रहको वायुमण्डलको अध्ययन गरिरहेको केम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले पृथ्वीमा जीवले मात्रै उत्पादन गर्ने अणु उक्त ग्रहको वायुमण्डलमा पनि फेला परेको जनाएको छ ।
नासाको जेम्स वेब टेलिस्कोपले अर्को गृहको वायुमण्डलमा जीवनसँग सम्बन्धित अझ भरपर्दो रासायनिक पदार्थ पहिचान गरेको यो दोस्रो पटक हो तर अध्ययन टोली र स्वतन्त्र खगोलविद्ले यी निष्कर्ष पुष्टि गर्न थप तथ्याङ्क आवश्यक पर्ने बताएका छन् ।
प्रमुख अनुसन्धाता प्रा. निक्कु मधुसूदनले थप प्रमाण पनि छिट्टै फेला पार्ने आशा आफूले लिएको बताएका छन् ।
‘त्यहाँ जीवन रहेको हुन सक्ने सम्भावना देखिएको यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो । हामी एकदेखि दुई वर्ष भित्रमा यी सङ्केतलाई पुष्टि गर्न सफल हुने छौँ’ उनले भने।
केटु–१८बी पृथ्वीभन्दा साढे दुई गुना ठुलो छ र पृथ्वीबाट ७०० खर्ब माइल टाढा छ ।
निकै शक्तिशाली रहेको जेम्स वेब टेलिस्कोपले कुनै ग्रहको वायुमण्डलको रासायनिक संरचनाको पनि विश्लेषण गर्न सक्छ । ग्रहको माउताराको प्रकाशको सहयोग लिएर उक्त टेलिस्कोपले वायुमण्डलको विश्लेषण गर्न सक्छ ।
जीवन रहेको सङ्केतका आधार
केम्ब्रिजको टोलीका अनुसार जीवनसँग सम्बन्धित दुई अणुमध्ये कम्तीमा एउटा अणुको रासायनिक उपस्थिति त्यहाँको वायुमण्डलमा देखिएको छ । त्यहाँ डाइमिथाइल सल्फाइड (डिएमएस) र डाइमिथाइल डाइसल्फाइड (डिएमडिएस) फेला परेका छन् । पृथ्वीमा यी ग्यासहरू समुद्री फाइटोप्लाङ्टन र ब्याक्टेरियाले निष्काशन गर्छन् ।
प्रा. मधुसूदन अवलोकनको एउटै चरणमा देखिएको ग्यासको मात्राबाट आफू छक्क परेको बताएका छन् ।
‘त्यहाँको वायुमण्डलमा यो ग्याँसको मात्रा पृथ्वीमा भन्दा हजारौँ गुना बढी छ’ उनी भन्छन्–’यदि त्यसको सम्बन्ध साँच्चै जीवसँग छ भने उक्त ग्रहमा धेरै जीव छन् ।’
प्रा. मधुसूदनका अनुसार केटु–१८बीमा जीव रहेको पुष्टि भएमा त्यसले आकाशगङ्गामा जीवको अस्तित्व निकै सामान्य हो भन्ने प्रमाणित गर्छ यद्यपि त्यो कुरा ठोकुवा गरेर भन्न नसकिने मधुसूदनको टोलीले बताएको छ ।
पर्याप्त छैन आधार
खोजले आवश्यक मापदण्ड पूरा गरेको छैन । अनुसन्धाताहरू आफ्नो खोजबारे ९९.९९९९९ प्रतिशत निश्चित हुनुपर्छ । यो परिणाम ९९.७ प्रतिशत मात्रै छ । धेरै भए पनि त्यति प्रतिशतका आधारमा वैज्ञानिक समुदाय विश्वस्त हुन सक्दैन । १८ महिनाअघि यही टोलीले प्राप्त गरेको ६८ प्रतिशत नतिजाभन्दा यो धेरै हो तर एडिन्बरा विश्वविद्यालयकी प्रा. क्याथरीन हेमन्स र स्कटल्यान्डको स्वतन्त्र अनुसन्धान समूह एस्ट्रोनोमर रोयलका अनुसार केम्ब्रिजले ९९.९९९९ प्रतिशत नतिजा हात पारे पनि त्यो भरपर्दो नहुन सक्छ ।
‘यो पक्का भइसकेपछि पनि त्यो ग्याँसको स्रोत के हो भन्ने प्रश्न बाँकी नै रहन्छ’ क्याथरीन भन्छिन्– ‘पृथ्वीमा समुद्रका सूक्ष्म जीवबाट त्यो उत्पादन हुन्छ । ब्रह्माण्डमा अनौठा गतिविधि भइरहन्छन्, निकै टाढाको संसारमा ती अणु जैविक स्रोतबाट उत्पादित भएका हुन् भन्ने ठोकुवा गर्न सक्दैनौँ ।’
केम्ब्रिजको टोली पनि यो धारणासँग सहमत छ । अहिले उनीहरू निर्जीव कुराबाट पनि डिएमएस र डिएमडिएस ग्याँस उत्पादन हुन्छ कि भनेर प्रयोगशालामा अध्ययन गरिरहेका छन् ।
वैकल्पिक अवधारणा
अन्य अनुसन्धान समूहले केटु–१८बीबाट प्राप्त गरिएका जस्तै तथ्याङ्क निर्जीव वस्तुबाट पनि प्राप्त गर्न सकिने वैकल्पिक व्याख्या अघि सारेका छन् । डिएमएस र डिएमडीएसबारे मात्रै नभई ग्रहको वैज्ञानिक संरचनाबारे पनि बहस हुने गरेका छन् ।
धेरै अनुसन्धाताले उक्त ग्रहमा तरल पदार्थको गहिरो समुद्र रहेको अनुमान गर्नुको कारण केटु–१८बीमा एमोनिआ नपाइनु हो । उनीहरूका अनुसार त्यहाँ मुनि रहेको पानीको गहिरो तहले एमोनिआ ग्याँस सोसेर राखेको छ ।
केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक ओलिभर सोर्टलका अनुसार चट्टान गलेर बनेको समुद्रका कारण पनि त्यस्तो हुन सक्छ ।
‘अरू ताराको परिक्रमा गर्ने ग्रहबारे हामीले तिनीहरूको वायुमण्डलमा परावर्तन हुने थोरै मात्राको प्रकाशबाट हो । त्यसकारण त्यहाँ जीवन भएको सङ्केत मात्रै नभएर धेरै कुराको सङ्केत हुन सक्छ । केटु–१८बीका हकमा यसको संरचनाबारे पनि वैज्ञानिक बहस चलिरहेका छन्’ उनी भन्छन् ।
नासाका एम्स अनुसन्धान केन्द्रका डा. निकोलस वोगनको यो तथ्याङ्कबारे फरक व्याख्या छ । उनले केटु–१८बी कुनै पनि सतह नभएको एउटा ग्यास जाइअन्ट वा हिलिअम वा हाइड्रोजनको थुप्रो हुन सक्ने तर्कसहित एउटा शोध प्रकाशित गरेका छन् । अरू समूहले भने यी दुवै व्याख्यामा विमति जनाउँदै चुनौती दिएका छन् । जेम्स वेब टेलिस्कोपबाट प्राप्त तथ्याङ्कमा उनीहरू अडिग छन् र त्यसले केटु–१८बीबारे बलियो वैज्ञानिक बहस जन्माएको छ ।
प्रा. मधुसूदन विज्ञानको सबैभन्दा जटिल प्रश्नको उत्तर दिन आफूले अझै ठुलो वैज्ञानिक अध्ययन गर्न जरुरी रहेको ठान्छन् तर आफू र आफ्टो टोली सही बाटोमा रहेको उनको विश्वास छ ।
‘अबको एक दशकपछि हामीले पछि फर्केर हेऱ्यौँ भने हामीले जीवन भएको अर्को संसार पहिचान भएको क्षण सम्झने छौँ’ उनले भने ।
उनीहरूको अध्ययन’द एस्ट्रोफिजिकल जर्नल लेटर्स’ मा प्रकाशित भएको छ । (बिबिसी)