टेकराज भुसाल, सन्धिखर्क ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकाबाङमा कार्यक्षेत्र रहेको प्रगति कृषक सहकारी संस्थाले मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामाग्री वितरण गरेको छ ।
मौरीपालक किसानको लागत घटाउँदै धेरै मुनाफा लिन सक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले सो सामग्री वितरण गरिएको बताइएको हो ।
२०८२ वैशाख ३ गते बुधबार एक कार्यक्रमका बिच भूमिकास्थानका नगरप्रमुख झबिलाल थापा, नगर उपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले कृषकलाई मौरीसहित आवश्यक सामग्री वितरण गर्नुभएको थियो ।
सामग्री वितरण गर्दै नगरप्रमुख थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न कृषकलाई आग्रह गर्दै व्यावसायिक रूपमा मौरीपालक किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर सीमित स्रोतका बाबजुद कृषकको ५० प्रतिशत र नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर मौरीसहित आवश्यक सामग्री वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत नेपाली, योजना शााखा प्रमुख हरिश्चन्द्र भुसाललगायतले मन्तव्य राख्दै मौरीपालन पेसा सहजजस्तो भए पनि किसानले चरनको समस्या झेल्ने गरेको बताउनुभयो ।
सहकारीमा आबद्ध करिब सय कृषकलाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७९ ओटा मौरीसहितको घार, ४० ओटा सुपरसहित माहुरीघार, चार सय २५ थान मह प्याक गर्ने प्लास्टिक बट्टा, ३८ थान जाली टोपी घुम्टी, ५० जोर पञ्जा, ४८ थान फिडर, तीन सय थान लेबलिङ छपाइ, स्टयान्डलगायतका सामग्री वितरण गरिएको र वितरणपूर्व किसानलाई दुईदिने तालिमसमेत दिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।
अनुदानमा मौरीसहित सामग्री पाएसँगै मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरीपालन व्यवसायलाई थप प्रवर्द्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ थियो ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष बुद्धिबहादुर थापा, वडा नं. १ का अध्यक्ष गोपालप्रसाद खनाल, वडा नं. ८ का अध्यक्ष राजकुमार श्रेष्ठलगायतका जनप्रतिनिधि, कर्मचारी र कृषकको उपस्थिति रहेको थियो ।
