भक्त विश्वकर्मा
आज मैले मेरो चिनजानको मित्र बालकृष्ण सुनार (सुर्खेत) को कथा लेखन तथा निर्देशनमा तयार भएको चलचित्र “अछूत” युट्युब मार्फत हेर्ने अवसर पाएँ । नेपालका सबै चलचित्रमध्ये “अछूत” चलचित्र पनि विद्यमान समाजमा भएका कुसंस्कार, कुप्रथा, कुविचारको बारेमा राम्रै चेतना दिइएको रहेछ ।
कथाको प्रारम्भमा नै जुन प्रकारको दलितजातिले जातीय अवहेलना भोग्नुपरेको छ, त्यो हाल समाजको ऐना नै हो । एउटै धर्मभित्रका, एउटै वर्गभित्रका, अझै गोत्रसमेत मिल्ने आफ्नै समाजका परम मित्रहरूलाई श्रम चल्ने, सिप चल्ने, भोट दिन मिल्ने, तर पानी नचल्ने; चेलीबटी चल्ने, तर विवाह नचल्ने अवस्था छ । त्यो कथा हैन, वास्तवमै समाजको बिम्ब नै रहेछ । कथाभित्र उचनिचको भेदभावपूर्ण समाजलाई प्रष्ट रुपमा देखाइएको पाइयो ।
पात्रहरूको धेरै सङ्घर्ष, बलिदानी, उतारचढावका साथै अन्तिममा यो समाजले माया गर्ने जोडीको मिलन भएको त्यहाँ देखाइएको छ । झट्ट हेर्दा कसैलाई रमाइलो भयो होला, धेरैजसोको आँखामा आँसु देखियो होला, तर मेरो नजरमा यो कथा नेपाली समाजको फोटोकपी हो । जसले यो पीडा भोग्नुभएको छैन, उहाँहरूलाई हृदय कमै छोएको होला । तर जसजसले यो पीडालाई भोग्नुभयो, कथाको अन्तिमतिर राम्रो लाग्दै गयो होला । पुरानो अशिक्षित, अहङ्कारी, सामन्ती सोच भएका महानुभावहरूलाई कथाको पहिलो चरणबाट रमाइलो र मज्जा आयो होला ।
शायद यो चलचित्र निर्माण भएको मिति यो भन्दा अन्दाजी ४/५ वर्ष भयो । शताब्दीयौँदेखी चलिआएको तत्कालीन महासामन्तहरूले कामको आधार जात बनाइदिएको र हालका अर्धसामन्ती सोच भएको हाम्रा महाबुद्धिजीवीदेखी हँसिया–हथौडाको झण्डा बोक्ने नक्कली कम्युनिस्ट, राजनीतिज्ञ, सामाजिक–धार्मिक अभियन्तासमेतको भित्री मनमा यो जात भन्ने चिज भगवानले नै बनाइदिएका हुन भन्ने ठान्दछन् । यसलाई सितिमिती छाड्नु हँदैन भन्ने चाहन्छन् । यति छिट्टै यो जातीय समस्यालाई समाधान गर्ने पक्षमा यो समाज, राज्य व्यवस्थानै छैन भन्ने लाग्छ । किनकि यो चलचित्रजस्ता घटना नेपालमा दिनानुदिन घट्ने गर्दछन् ।
उदाहरणको लागि हालै रुकुम–जाजरकोटको घटना घटेको छ । फेरि पनि समाजको वास्तविक स्वरूप पर्दाफास भएको छ । एउटा दलित समुदायको युवाले ठकुरी समुदायकी युवतीसँग प्रेम गर्छ । प्रेम गर्ने प्रेमिकालाई लिन जाँदा साथीसमेतलाई कुटपिट गरी भेरी नदीमा फालिन्छ । केही सङ्ख्याका साथीहरूसमेतको ज्यान गएको छ । माइती पक्षको भनाइ पाइएको छ, एउटा दलितलाई ज्वाइँ बनाउनुभन्दा जेल बस्नु नै बेस । उक्त घटनामा वडा अध्यक्षसमेत मुछिएको प्रारम्भमा बुझिन आएको छ । जे होस्, घटना त भइहाल्यो । दोषीलाई अबउप्रान्त जातीय हिंसा गर्न डराउने गरी कानुनी कारबाही गरिनुपर्दछ । पीडितलाई क्षतिपूर्ति र राहत महशुस हुनेगरी न्याय दिनुपर्दछ ।
धेरैजसो यस्ता घटना पहुँचवालाले नै घटाएका हुन्छन् र पहुँचको आधारमा उम्किन्छन् । कमजोर कानुनले खासै प्रभाव पारेको पाइदैन । जबकि कसुर प्रमाणित भएमा ३,००० देखि ३०,००० हजारसम्म जरिवाना र तीन महिनादेखि तीन वर्षसम्म जरिवाना मात्र ताकेको छ । सरकारले नमुना देखिनेगरी दह्रो सजाय नदिएकै कारण पीडकले फेरि पनि पीडितमाथी बारम्बार दमन गरिरहेकै छ । स्थानीय तहमा राजनीति गर्नेहरू आज एउटा समाजलाई कारबाही गर्दा वा पक्षमा बोल्दा भोलि त्यो समाजको भोट गुमाउने डरले सही न्याय गरेको पाइँदैन । किन हुन्छन् यस्ता घटना ?
नेपाली समाजमा अझै पनि जातीय जघन्य अपराध दिनानुदिन घटिरहेका छन् । किनभने समाज अझै अर्धसामान्ती, अर्ध औपनिवेशिक अवस्थाबाट गुज्रिरहेको छ । दलित भनिने परिवारहरू अझै धार्मिक कुसंस्कारको बन्धनमा छन् । यहाँ अझै धनी र गरिब, उच्च र निच, हुनेखाने र हुँदाखानेबिचको अझै ठुलो खाडल छ ।
शताब्दीयौँदेखि पिल्सिएर आएको दलित समुदाय अझै दबाबमा नै बाँचेको छ । शैक्षिक, आर्थिक, राजनैतिक, सामाजिक रूपमा अझ अरू जातको समानान्तरमा पुगेको पाइँदैन । केही दलितभित्रकै अगुवाहरू उच्च जातकै ठुलाबडाको चाकरी गर्छन् । एनजिओ, आइएनजिओलाई मागीखाने भाँडो बनाइरहेका छन् । केही पक्ष धर्म परिवर्तन गरी मुक्ति पाउने कोशिस गरी साम्राज्यवादको सिकार भएका छन् भने बाँकी आफ्नै धर्ममा पनि ब्राह्म्णवादको अत्याचारमै पिल्सिरहेका छन् । नामकै अगाडि दलितको दर्जा भिरी झन् अछ्रूतपनलाई कानुनी मान्यता दिइएको छ ।
यस आधारमा नेपाली समाजमा तत्काल दलित समुदायले गर्नुपर्ने केही महत्त्वपूर्ण कार्यलाई निम्नबमोजिम बुँदाकृत गर्न सकिन्छ :
- सम्पूर्ण दलितले शैक्षिक, आर्थिक, राजनैतिक सामाजिक रूपमा प्रतिस्पर्धा गर्ने कार्य थालनी गरिनुपर्दछ ।
- परम्परागत सिप र ज्ञानलाई आधुनीकरण र औद्योगिक रूपमा स्थापना गर्नुपर्दछ ।
- हिन्दु धर्मभित्र रहेका गलत रूढीवाद, कुविचारलाई त्यहीँभित्रवाट विद्रोह गरी सच्याउनेतर्फ लाग्नुपर्दछ ।
- कुनै प्रकारका घटना घटिहालेमा दोषीलाई कडा सजायको व्यवस्था गर्न पहल गर्ने, जबकि हदैसम्म उमेरकैदको व्यवस्थापन गर्न सरकारलाई दबाब दिने ।
- वर्गीय सङ्घर्षलाई जोड दिँदै आफ्नो पहिचान गरी एकतामा जोड दिने ।
- आफ्नै आन्तरिक विभेदको समाधन गरी समानतापूर्ण दलितबस्ती तयार पार्ने ।
- पुरानो तरिकाले कुनै पनि जातीय आँच आउने गतिविधि नगर्ने ।
- अझै पनि राम्रो समाजमा जान्ने मान्ने मान्छे नै यो जातीय लैङ्गिक रीतिथितिलाई तोड्न चाहदैनन् । भाषणमा जे बोले पनि व्यवहारमा उतार्न खोज्दैनन् । देशसमाज परिवर्तन हुन समाजमा भएका गलत विचार, संस्कार र प्रथाको अन्त्य हुनुपर्दछ ।
हरेक देशमा हेरक तरिकाले वर्गीय शोषण, दमन, अन्याय, अत्याचार भइरहेका छन् । कुनै देशमा रङ्गभेद, कुनै देशमा जातिभेद, धर्मसम्बन्धी विभेद कुनै ठाउँमा भौगोलिक हिसाबले समेत उत्पीडन भइरहेको हुन्छ । जित्नेले हार्नेलाई सधैँ पशुजन्य व्यवहार गरिरहेको हुन्छ । एक्काइसौँ शताव्दीमा आइपुग्दासमेत विभेदको नीति कायमै छ ।
यसको मतलब यो हो कि हाल विश्वमा पुँजीवादी व्यवस्था चरम अवस्थामा पुगेको छ । हुनेखाने र हुँदाखानेबिचको लडाइँ जारी छ । वर्गीय रूपमा नै टड्कारो छ । नेपालमा हाल शोसित–पीडित वर्गमा दलित समुदाय पर्दछ । दलित समुदायलाई गरिने भेदभाव र अछूतपन जो छ, त्यसको पूर्ण समाधान भने यो व्यवस्थामा आमूल परिवर्तनसँगै हुन्छ । जस्तै– पुँजीवादबाट समाजवाद जाँदा आर्थिक क्रान्ति, राजनैतिक क्रान्ति र सामाजिक क्रान्तिसँगै समानतापूर्ण समाज निर्माण हुन्छ । तत्पश्चात् समतामूलक समाज देख्न पाइने छ ।
bhaktabk9@gmail.com

