काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन चार दिनदेखि जारी छ ।
आज चौथो दिन (चैत २७ गते) भृकुटीमण्डपमा जनसभा हुने छ । त्यसअघि गौशालाबाट जुलुश प्रदर्शन गरिने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
गौशालाबाट पुरानो बानेश्वर, मैतिदेवी, डिल्लिबजार, पुतलीसडक, पद्मोदय मार्ग हुँदै भृकुटीमण्डपमा जनसभा हुने छ । सभालाई राजमो उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राजमोले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताको खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि आन्दोलन गरिरहेको छ ।
सो क्रममा पहिलो दिन शान्तिवाटिकामा जनसभा भएको थियो भने दोस्रो दिन चाबहिल र तेस्रो दिन (चैत २६ गते) माइतीघर मण्डलामा जनसभा गरेको थियो । ती सभाहरूमा अध्यक्ष चित्रबहादुर केसीसहित विभिन्न जनवर्गीय संगठनका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमप्रति जर्मन एमएलपीडीलगायत विदेशी भाइचारा पार्टीका प्रतिनिधिले समेत ऐक्यवद्धता जाहेर गरेका छन् ।
राजमोले चैत २४ देखि ३० सम्म साताव्यापी आन्दोलन घोषणा गरेको भएपनि काठमाडौँमा बढ्दो प्रदूषणका कारण दुई दिन छोट्याएर चैत २८ गते समापन गर्ने तयारी गरेको छ ।
बिहीबार शान्तिवाटिकामा जुलृुशसहित कार्यक्रमको समापन हुने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।