काठमाडौँ । रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतसेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड स्थित बतासेमा ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल हुँदा सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
गम्भीर घाइतेहुनेहरूमा रौतहटको गुजरा नगरपालिका–५ का २१ वर्षीय मिरशन आलम, सोही स्थानका ५५ वर्षीय मुस्ताख अहमद र रौतहटकै इशनाथ नगरपालिकाका ३६ वर्षीय हरशे आलम मन्सुर रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएस्पी) श्यामु अर्यालले जानकारी दिए। मिरशन आलम र मुस्ताख अहमद दुवै जनालाई टाउकोमा गम्भीर चोट लागेको छ भने हरशे आलम मन्सुरको अवस्थासमेत गम्भीर रहेको उनले बताए।
यस्तै, अन्य घाइते हुनेहरूमा रौतहटको गुजरा नगरपालिका–४ का १७ वर्षीय मशरुदिन आलम, इशनाथ नगरपालिकाका १९ वर्षीय असमल आलम, गुजरा नगरपालिका–४ का १३ वर्षीय सलिम अन्सारी र गुजरा नगरपालिका–३ की १८ वर्षीय अजुमा खातुन रहेका छन्। मशरुदिन आलमको दाहिने कुममा चोट लागेको छ भने असमल आलम र सलिम अन्सारीलाई शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। अजुमा खातुनको दाहिने कुइनोमा चोट लागेको बताइएको छ।
यसैगरी, सवारी धनी र एक अन्य घाइते युवकको परिचय खुल्न नसकेको भए पनि उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
घाइतेहरूको उपचारका लागि काठमाडौँ पठाइएको छ भने सुमो चालक रौतहटको गुजरा नगरपालिका–४ बस्ने २३ वर्षीय चालक राजन चौधरी समेत सामान्य घाइते भएका छन्। उनी प्रहरीको निगरानीमा उपचारत रहेको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुमो चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको उनले जानकारी दिए ।