चेतनारायण बेलबासे, काठमाडौँ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँले चैत १५ गते प्रेसमाथिको ज्यादतीबारे एक हप्ताभित्र कारबाही गर्न माग गरेको छ ।
२०८१ चैत १९ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र बुझाउँदै महासङ्घले सो माग गरेको हो ।
“हाम्रो माग एक हप्ताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीज्यू मार्फत् नेपाल सरकारसमक्ष आग्रह गरिन्छ” उनीहरूले भनेका छन् ।
ध्यानाकर्षणपत्रमा फोटोपत्रकार सुरेश रजकको ज्यान गएको, अन्नपूर्ण पोस्ट दैनिकको कार्यालय र कान्तिपुर टेलिभिजनको कार्यालयमा क्षति पुऱ्याइएको, हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गर्दा खुट्टा भाँचिएको र फोटोपत्रकार निराज तामाङको क्यामेरा हराएकोजस्ता घटना विवरण समेटिएको छ ।
महासङ्घले यस सन्दर्भमा रजक हत्याको छानबिन गरी फौजदारी अभियोग कायम गर्नुपर्ने, निजका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, सञ्चारमाध्यममाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याइनुपर्ने, क्षति पुगेका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझाउन जिल्ला अध्यक्ष शाेभा अर्याल, सचिव रमेशकुमार बोहरा, जिल्ला समितिका सदस्य चेतनारायण बेलबासे, केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत काठमाडौँ जिल्ला समितिका पत्रकारहरू प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेका थिए ।
