काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजावादी प्रदर्शनको क्रममा आगलागीबाट निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।
केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ चैत १७ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो माग गरेको हो ।
राजमोले रजक मृत्युको विषयमा उच्चस्तरीय छानबिन गर्न पनि माग गर्दै विभिन्न पत्रकार सङ्गठनले त्यस सम्बन्धमा सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।
मृतक पत्रका रजकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ :
“यही चैत १५ गते राजावादीले गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध गरेको काठमाडौँको प्रदर्शनको सिलसिलामा लागेको आगलागीबाट पत्रकार सुरेश रजकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर दुख र क्षोभ प्रकट गर्दछ । त्यो दिनको प्रदर्शनमा एउटा घरबाट रिपोर्टिङ गरिरहेको बेलामा त्यही घरमा आगलागी भएपछि उनको मृत्यु भएको थियो ।
हामीले मृतक सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र उनको सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । यसबाट चैत्र १५ गतेको राजावादीको प्रदर्शनले जसरी उग्र, हिंसात्मक रूप लियो† कैयौँ घरमा आगलागी भयो† कैयौँ राजनैतिक पार्टीका कार्यालय, व्यापारिक प्रतिष्ठान, सञ्चारमाध्यमका कार्यालय, सामाजिक सेवासित सम्बन्धित कार्यालयमा समेत राजावादीवाट तोडफोड गर्ने र आगो लगाउनेसमेत काम गरियो, त्यसले त्यो आन्दोलनको फासिष्ट र प्रतिक्रियावादी चरित्रलाई नै बताउँछ । उनीहरूको त्यस प्रकारको हिंसक, उग्र र अराजकतावादी कारबाहीको परिणामस्वरूप नै पत्रकार सुरेश रजकको मृत्यु हुन गएको छ । त्यसैले हाम्रो पार्टीले राजावादीको त्यस प्रकारको कारबाहीप्रति क्षोभ प्रकट गर्दै त्यस प्रकारको अराजकतावादी कार्यको कडा शब्दमा भर्त्सना गर्दछौँ ।
हामीले त्यो घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कडा कारबाही गर्दै उनीहरूको परिवारलाई न्यायोचित प्रकारले क्षतिपूर्ति दिनका लागि पनि सरकारसित माग गर्दछौँ । त्यो आगलागीबाट उनको कसरी निधन हुन पुगेको हो ? उनी त्यसबाट उम्कन कसरी सम्भव भएन ? प्रहरीले पनि किन समयमै उनलाई मदत गर्न सकेन ? त्यसबारे पनि उच्चस्तरको छानबिन हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले माग गर्दछ ।
सुरेश रजकको निधनप्रति पत्रकार जगत्ले प्रकट गरिरहेको शोक, त्यससम्बन्धी उनीहरूका माग र त्यसबारे उनीहरूले गरिरहेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यबद्धता प्रकट गर्दछ ।”