बुटवल । गणतन्त्र विरुद्व काठमाडौँमा राजावादीको आन्दोलनमा मारिएका पत्रकार, मिडिया हाउस, राजनीतिक दलका पार्टी कार्यालय र व्यक्तिको घरमा भएको क्षतिको पत्रकारहरूले विरोध गरेका छन् ।
आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिजिनमा कार्यरत पत्रकार सुरेश रजकको चैत १५ गते काठमाडौँमा मृत्यु भएपछि देशभरका पत्रकारले शोक मनाउँंदै उक्त घटनाको विरोध गरेका हुन् ।
घटनाको विरोध गर्दै पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा २०८१ चैत १६ गते शनिबार बुटवलमा मौनजुलुस निकालिएको थियो ।
महासङ्घको भवनबाट बिहान निकालिएको मौनजुलुस जेसिजचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा बोल्दै प्रगतिशील पत्रकार सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेलले जनताले सदाका लागि फालेका, जनता, सङ्गठन र एजेन्डा केही नभएका राजावादीलाई गणतन्त्र र प्रेस स्वतन्त्रताको विरोधमा बोल्न पनि छुट नभएको बताउनुभयो ।
आन्दोलनको रिपोर्टिङ गर्न पुगेका पत्रकार रजकको हत्या गर्ने, मिडिया हाउसमा ताडफोड गर्ने, व्यक्ति र दलका कार्यालय तोडफोड गर्ने राजावादीको भर्त्सना गर्दै उनले उनीहरूमाथि कडा कारावाही गर्न राज्यसँग माग गर्नुभयो ।
नागार्जुनमा सम्मानका साथ राखिएका पूर्व राजालाई त्यहांबाट निकालेर कारवाही गर्नुपर्ने बताउँंदै मृतक पत्रकारको परिवारलाई उचित क्षतिपूर्ति र मिडिया हाउसमा भएको भौतिक क्षतिको क्षतीपूर्ति दिन राज्यसँग माग गर्नुभयो ।
अध्यक्ष पोखरेलले २०७२ को संविधानले प्रेस स्वतन्त्रतालाई मौलिक हकमा राखेकाले प्रेस स्वतन्त्रता हनन् गर्ने छुट कसैलाई पनि नभएको बताउँंदै गणतन्त्रजस्तो संसारकै उचित व्यवस्था फालेर राजतन्त्र ल्याउँछौ भन्नु राजावादीको मूर्खता भएको बताउनुभयो ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले राजावादीको आन्दोलनले गणतान्त्रिक व्यवस्था परिवर्तन हुन नसक्ने बताउनुभयो ।
उहाँले अराजकहरूले अनावश्यक हल्ला गर्दै पत्रकारलाई हत्या गरेर स्वतन्त्र प्रेसमाथि हमला गरेको घटना निन्दनीय भएको बताउनुभयो ।
पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले निर्दोष पत्रकारको हत्या गरेर गणतन्त्र कमजोर नहुने बताउँदै पत्रकार रजकलाई उचित क्षतिपूर्ति दिन र दोषीलाई हदैसम्मको कारवाही गर्न माग गर्नुभयो ।
पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईंले बलिदान दिएर ल्याएको लोकतान्त्रिक गणतन्त्र र प्रेस स्वतन्त्रताको बिरोध गर्ने राजावादीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय, सचिव सिपी खनाल, प्रेस युनियन रुपन्देही सभापति कविन्द्र नेपाल, प्रेस चौतारी रुपन्देही अध्यक्ष भगवती पाण्डेय, समाजवादी प्रेस सङ्गठन रुपन्देही अध्यक्ष विनोद परियार, प्रेस सेन्टर रुपन्देहीका ओम पङ्गेनी, जनपत्रकार सङ्गठनका रुपन्देही अध्यक्ष विनोद खनाल, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीलगायतले पत्रकारको हत्याको घटना जघन्य अपराध भएको बताउनुभयो ।