काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले पक्राउ वा नजरबन्द गर्न खोजेको राजावादीहरूले दाबी गरेका छन् ।
‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ या नजरबन्द गर्न खोजिएको दाबी गरेका हुन् ।
शुक्रबारको हिंसात्मक प्रदर्शपछि सुवेदीलाई प्रहरीले आफ्नै घरमा नजरबन्दमा राखेको छ । यस्तै, रविन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाललगायत १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुवेदीले शनिबार विज्ञप्ति जारी गरी ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको र त्यस्तो कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौँको तीनकुनेमा गरिएको आन्दोलन घोषणा सभामा संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट घुसपैठ गराइएको दाबी पनि उनले गरेका छन्।