खलङ्गा । प्युठानका पुराना विद्यार्थी नेता रामबहादुर केसी आफ्नै मूलघर राष्ट्रिय जनमोर्चामा फर्किनुभएको छ ।
प्युठानको विद्यार्थी आन्दोलनमा २०५५ देखि २०६३ सम्म जिम्मेवार भूमिकामा रहनुभएका केसी राजमोमा फर्किनुभएको हो ।
राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्कासित २०८१ चैत १२ गते मङ्गलबार खरिबोट बजारमा राजमोको सदस्यता लिँदै उहाँले आफू मूलघरमा फर्किएको जानकारी दिनुभयो ।
युगदर्शनसितको सङ्क्षिप्त प्रतिक्रियामा उहाँले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको विश्लेषण अगाडि सार्नुभयो ।
उहाँले भन्नुभयो–’कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । यसलाई सशक्त रूपमा अगाडि बढाउन आवश्यक छ ।’
केसीले सङ्घीयता नेपालको सन्दर्भमा अनपुयक्त प्रणाली भएको पनि बताउनुभयो ।
‘सङ्घीयता नेपालका लागि उपयुक्त प्रणाली होइन’ उहाँले भन्नुभयो–’राष्ट्रिय जनमोर्चाले सङ्घीयताको विरोध गरेर सही नीति अपनाएको छ ।’
तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल) मा २०६३ सालतिर विभाजन भएपछि उहाँले मसाल छोड्नुभएको थियो । गत तीन सालयता उहाँ कुनै राजनीतिक पार्टीमा सामेल हुनुहुन्थेन ।
राजमो केन्द्रीय सदस्य खड्का अनुसार प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना निवासी उहाँ प्युठानको विद्यार्थी आन्दोलनको चिरपरिचित नाम हो ।
अखिल (छैठौं) प्युठानका अध्यक्षसमेत रहिसक्नुभएका केसी २०५५ सालदेखि दुईपटक स्वर्गद्वारी क्याम्पसको स्ववियु सभापति बन्नुभएको थियो ।
२०५५ सालमै सम्पन्न अखिल (छैठौं) को चौधौँ राष्ट्रिय सम्मेलनद्वारा उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०५९ सालमा तत्कालीन नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) माथि पार्टीएकतासँगै विद्यार्थी सङ्गठनमाझ पनि एकीकरण हुँदा पनि उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।