इटहरी । सुनसरीको इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ ।
इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा बिहान साढे ९ बजेदेखि आगो लागेको थियो । १० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा आगलागी भएको थियो ।
आगलागी नियन्त्रणका लागि विराटनगर, इटहरी, इनरूवा, दुहबी, रामधुनी, सुन्दरहरैचा, कानेपोखरी, धरान, प्रदेश प्रहरी कार्यालयलगायतका स्थानबाट दर्जन दमकल आगो नियन्त्रणमा पुगेका थिए ।
दिनभरको प्रयासबाट आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार, आगो नियन्त्रणमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झण्डै ६ घण्टा लागेको थियो ।
आगलागी भएको भवनमा होटेल भएको तला पुर्ण नष्ट भएको छ । माथिल्लो तलामा आधा जलेको छ ।
आगो नियन्त्रणमा आउनुअघि छतमा अड्किएका ११ जनालाई उद्दार गरिएको थियो । ८ जनालाई डोरीको सहयोगमा र काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकोप्टरले ३ जनाको उद्धार गरेको हो ।