वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा रात्रिबजार सञ्चालन गरिने भएको छ ।
वीरगञ्ज महानगरको आयोजनामा यही चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रिबजार सञ्चालन गर्न लागिएको हो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतका वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रिबजार आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
‘यो बजार सञ्चालनमा आएपछि अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौँ’ उहाँले भन्नुभयो । यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ ।
रात्रिबजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायत सरसामानका स्टल राखिनेछन् । ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइइएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआरसँगको समन्वयमा रात्रिबजार सञ्चालन गरिने महानगरले जनाएको छ । (रासस)