काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि ठाउँठाउँमा विरोध प्रदर्शन भएको छ ।
काठमाडौँको नयाँबानेश्वरस्थित संसद् भवन अगाडि कुलमान समर्थकले विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले नयाँबानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको छ ।
माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको जुलुसमा प्रदर्शनकारीले ॅलोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन, कुलमान’ लेखेको ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।
एमाले कार्यकर्ताले पिटे प्राधिकरणका कर्मचारी
यता, नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्री विरुद्धको नारा डिस्प्ले गरिएको थियो ।
त्यही विषयको विरोधमा एमाले कार्यकर्ता कार्यालयमा पुगेका थिए । त्यस क्रममा उनीहरूले श्रेष्ठमाथि हातपात गरेका हुन् । उनीहरूले कार्यालयमा तोडफोडसमेत गरेका छन् ।
वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्ने विरुद्ध लिखित उजुरी गर्न भनेको र उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने बताए ।
प्रधानमन्त्री विरुद्ध कार्यालयको डिजिटल बोर्डमा कसरी उक्त नारा डिस्प्ले भयो भन्ने पनि २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रजिअ पौडेलले जानकारी दिए ।