मेघराज भट्टराई ##
देशको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य, यातायातलगायतका आधारभूत क्षेत्र सङ्कटमा छन् । बेरोजगारी, महँगी, भ्रष्टाचार, सामाजिक असमानता र राजनैतिक अस्थिरताले जनता निराश भएका छन् । यस्तो अवस्थामा प्रतिगामी शक्तिहरूले फाइदा उठाउँदै आफ्नो प्रभाव विस्तार गर्न थालेका छन् तर यो अवस्था आकस्मिक रूपमा सिर्जना भएको होइन । विगतका गलत नीति, असफल नेतृत्व, भ्रष्ट प्रशासन, अवसरवादी राजनीति र अन्तर्राष्ट्रिय शक्तिको चलखेलले आजको सङ्कटपूर्ण अवस्थालाई जन्म दिएको हो ।
वर्तमान सङ्कटका प्रमुख कारण कमजोर अर्थतन्त्र र औद्योगिक पतनले देशको औद्योगिक उत्पादन थलिएको छ । घरेलु उद्योग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । निर्यात घट्दै गएको छ भने आयातमा निर्भरता अत्यधिक बढेको छ । साना व्यवसायी निरन्तर घाटामा गइरहेका छन्, जसले अर्थतन्त्रलाई थप कमजोर बनाएको छ ।
कृषिप्रणालीको सङ्कट
कृषिमा आत्मनिर्भर हुनुपर्ने देश आज खाद्यान्नसमेत आयात गर्न बाध्य छ । सहकारी प्रणाली भ्रष्टाचारको अखडा बनेको छ । किसानहरू लागत बढ्दै गएर मारमा परेका छन्, जसका कारण गाउँबाट सहरतर्फ बसाइँसराइ तीव्र भएको छ । यसबाट हिजो आधा जनसङ्ख्या धानेको पहाड खाली भएको छ । खेतीयोग्य जमिन बिरान बञ्जर भएका छ । यो कारणले पनि राष्ट्र आर्थिक रूपमा कमजोर बनेको छ ।
शिक्षाप्रणालीमा पतन
शिक्षा व्यवसायीकरण भयो, गुणस्तर खस्कियो । विदेशमा अध्ययन गर्नेहरूको लहर बढ्दै गयो, जसका कारण देशलाई कुशल जनशक्ति दिन सक्ने क्षमता कमजोर भयो । शिक्षालाई समाज रूपान्तरणको साधन बनाउनुको सट्टा धनआर्जनको माध्यम बनाइएको छ ।
स्वास्थ्य सेवा असमान र महँगो
स्वास्थ्य सेवा निजीकरण हुँदै गएपछि गरिब जनताका लागि उपचार दुर्लभ भयो । सरकारी अस्पतालमा सेवा गुणस्तर खस्कियो । चिकित्सा शिक्षा पनि व्यापारमा रूपान्तरण भएपछि योग्य डाक्टर उत्पादनभन्दा व्यापारिक मानसिकताका चिकित्सक जन्मिन थाले ।
यातायात र पूर्वाधार विकासमा ढिलाइ
कासका नाममा ठुल्ठुला आयोजना घोषणा गरिए पनि कार्यान्वयनमा ढिलाइ भयो । सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक यातायात सुधारजस्ता पूर्वाधार विकासका कार्य भ्रष्टाचार, ठेकेदारी संस्कृति र अकर्मण्यताका कारण अलपत्र छन्, जसको कारण पनि नागरिकमा निराशा जागेको छ ।
सामाजिक असमानता र विखण्डनको राजनीति
राजनीतिक दलहरूले सत्तामा पुग्न जातीयता, क्षेत्रीयता, धर्म र भाषाको नाममा समाजलाई विभाजित गरे । राजनीतिक पहुँच भएका समृद्ध भए । गरिब झन् गरिब भए । समाजमा धनी र गरिबबिचको खाडल बढ्दै गयो ।
राजनीतिक अस्थिरता र अवसरवाद
नेताहरू सत्तामा पुग्न मात्र क्रियाशील छन् तर मुलुक समृद्ध बनाउने दूरदृष्टि कसैसँग छैन । बारम्बार सरकार परिवर्तन हुनु, राजनीतिक गठबन्धन स्वार्थका आधारमा बन्नु र विचारभन्दा सत्तालाई केन्द्रमा राख्ने प्रवृत्तिले मुलुक अस्थिर बनेको छ ।
प्रतिगामी शक्तिको उदय
देशमा सङ्कट गहिरिँदै जाँदा प्रतिगामी शक्तिहरूले फाइदा उठाउँदैछन् । तानाशाही, निरङ्कुशता, धर्मवादी राजनीति, साम्राज्यवादी चलखेल बढ्दै गइरहेको छ । लोकतान्त्रिक मूल्यमान्यता कमजोर हुँदै गएको छ । निकास के हो ? देशलाई सङ्कटबाट निकाल्न स्पष्ट कार्यदिशा आवश्यक छ ।
निम्न बुँदालाई आत्मसात गर्न सकिए मात्र समस्याको समाधान सम्भव छ :
१. उत्पादनमुखी अर्थतन्त्रको निर्माण आजको आवश्यकता हो । औद्योगिक पुनरुत्थान गरेर उत्पादनलाई बढावा दिनुपर्छ । कृषिमा आत्मनिर्भरता कायम गरी खाद्यान्न सङ्कट समाधान गर्नुपर्छ । स्थानीय उद्योगलाई प्रवर्धन गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।
२. भ्रष्टाचार नियन्त्रण र सुशासन
आज देशमा भएका अर्बखर्बका भ्रष्टाचार भएका छन् । ठुला भ्रष्टाचारीलाई कारबाही गर्दै न्यायिक प्रणाली बलियो बनाउनु आवश्यक छ । नयाँ पुस्ताको नेतृत्व विकास गर्नुपर्छ, जसले क्रान्तिकारी दृष्टिकोणबाट देशलाई अघि बढाओस् । निष्पक्ष प्रशासनिक सुधार गरी सरकारी निकायलाई प्रभावकारी बनाउनुपर्छ ।
३. सामाजिक एकता र न्याय
केही राजनीतिक शक्ति विदेशी लगानीमा आफनो कुनियत राखी देशलाई साम्प्रदायिक द्वन्द्वको नजिक पुऱ्याएका छन् । हामीले जातीय होइन, वर्गीय आधारमा राष्ट्रलाई समृद्धि, सामाजिक न्याय र एकतामा अघि बढ्नुपर्छ । जातीय, धार्मिक, भाषिक विभाजनको राजनीति बन्द गरी सामाजिक सद्भाव प्रवर्धन गर्नुपर्छ । राज्यको सम्पत्ति केही व्यक्तिको स्वार्थपूर्ति गर्न नभई सबै नागरिकका लागि उपयोग गर्नुपर्छ ।
४. गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा
शिक्षाप्रणालीलाई व्यावसायीकरणबाट मुक्त गरी वैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ । हाम्रो संविधानले प्रत्येक नागरिकका लागि शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको छ । आज संविधानको पालना भएको भेटिँदैन । निःशुल्क र सुलभ स्वास्थ्यसेवा प्रदान गर्ने प्रणाली लागु गर्नुपर्छ ।
५. राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर राष्ट्रिय नीति
बाह्य शक्तिको हस्तक्षेप न्यूनीकरण गर्दै राष्ट्रलाई बलियो बनाउनु जरुरी छ । नेपालको बजार नेपाली उत्पादनको प्राथमिकता अनिवार्य गर्नुपर्दछ । तरकारी फलफूल खाद्यान्न आयात रोक्ने राष्ट्रिय नीतिनिर्माण गर्नुपर्दछ । स्वदेशी नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्नुपर्छ ।
६. सशक्त राजनीतिक रूपान्तरण
राजनीतिक पार्टीमा विचारधारात्मक स्पष्टता हुनुपर्छ । सिद्धान्तहीन, अवसरवादी गठबन्धन तोड्नुपर्छ । क्रान्तिकारी नेतृत्वको विकास गर्नुपर्छ, जसले देशको वास्तविक समस्यालाई समाधान गर्न सक्छ । त्यसैले हामी निराश हुने होइन, पलायन हुने होइन ।
देश सङ्कटमा छ तर समाधान असम्भव छैन । आज आवश्यक छ साँचो क्रान्तिकारी दृष्टिकोण, इमानदार नेतृत्व, जनतासँग प्रत्यक्ष सम्बन्ध र स्वाधीन नीतिको कार्यान्वयनको । यदि देशभक्त, जनमुखी, क्रान्तिकारी शक्तिहरू एकजुट भए भने मात्र यो सङ्कटको अन्त्य हुन सक्छ । अहिलेको मुख्य चुनौती भनेकै प्रतिगामी शक्तिलाई परास्त गर्दै लोकतान्त्रिक र जनउत्तरदायी सत्ता स्थापन गर्नु हो । देशलाई समृद्ध बनाउन भाषण होइन, कर्म आवश्यक छ । अब समय आएको छ, नीतिगत परिवर्तन, राजनीतिक रूपान्तरण, सामाजिक सद्भाव र आर्थिक पुनरुत्थानको ।