काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सिराहाका एक दलित परिवारमाथि महायज्ञको नाममा मध्ययुगीन अत्याचार भएको बताउनुभएको छ ।
२०८१ चैत ७ गते बिहीबार प्रतिनिधिसभा बैठकमा निजीकरणसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत गर्नुअघि अध्यक्ष केसीले सो विषय उठान गर्नुभएको हो ।
‘सिराहामा दलितमाथि जग्गे लगाउन भन्दै माटोसमेत छोइन्छ भनेर अत्याचार गरियो’ उहाँले भन्नुभयो– ‘यो दलितमाथिको घोर मध्ययुगीन अत्याचार हो ।’
उहाँले सत्ता र शक्तिमा रहेकाबाटै यस खालको अत्याचार भएको धारणा राख्नुभयो ।
‘घटनाको गम्भीर छानबिन गरेर अपराधीलाई कारबाही गरियोस् र सो जानकारी सदनलाई गराइयोस्’ उहाँको भनाइ थियो ।

उहाँले ईश्वरको नामा दलितमाथि अत्याचार भइरहेको पनि बताउनुभयो ।
‘ईश्वर पनि शोषकको मात्रै हुन् र ?’ उहाँले भन्नुभयो– ‘ईश्वर भएको भएर दलितको बासस्थानमाथि डोजर लगाउने अपराधीलाई देख्नुपर्दथ्यो ।’
अध्यक्ष केसीका अनुसार ईश्वरको नाम बेचेर मानव समुदायिमाथि घोर अत्याचार गरिने यस्तो प्रथालाई अन्त्य गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सिराहाको औरही गाउँपालिका–५ निवासी दीपक मरिक (डोम) को घर विष्णु महायज्ञ लगाउने भन्दै गत फागुन १० गते भत्काइएको थियो ।
चैत १७ गतेदेखि विष्णु महायज्ञ लगाउने नाममा बजरङ्गी बाबाको आदेशपछि सो घर भत्काएर दुई फिट माटोसमेत खनेर फालिएको थियो ।
पीडित परिवार अहिले वासस्थानविहीन बन्न पुगेको छ ।