काभ्रे । राष्ट्रिय जनमोर्चाले काभ्रेपलाञ्चोक र सिन्धुलीमा संघीयता विरुद्धको कार्यक्रम गरेको छ ।
बुधबार (२०८१ चैत ७ गते) काभ्रेको भकुन्डेबसी र सिन्धुलीको खुर्कोटमा कोणसभा गरेको हो । भकुन्डेबेसीमा आयोजित कोणसभामा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा र केन्द्रीय सदस्य लालबहादुर थापाले सम्बोधन गर्नुभएको थियो ।
यस्तै, खुर्कोटमा आयोजित कोणसभामा अखिल नेपाल महिला संघका अध्यक्ष मीना पुन र अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले सम्बोधन गर्नुभएको थियो ।

कोणसभापछि राजमोले स्थानीय जनतासँग छलफल तथा पर्चा वितरण गरेको थियो । त्यसक्रममा स्थानीयले संघीयता खारेज हुनैपर्ने बताएका थिए । स्थानीयले संघीयताविरुद्ध राजमोले सञ्चालन गरेको आन्दोलनलाई स्था दिने प्रतिवद्धता जनाएका छन् ।
राजमोले आजै रामेछापको मन्थलीमा पनि कार्यक्रम गर्दैछ । भोलि दोलखाको चरिकोट र सिन्धुपाल्चोकको खाडिचौरमा कार्यक्रम रहेको राजमो केन्द्रीय सदस्य लालबहादुर थापाले जानकारी दिनुभयो ।
चैत २४ गतेदेखि सुरु हुने काठमाडौँ केन्द्रित आन्दोलनको तयारीका क्रममा राजमोले विभिन्न जिल्लामा प्रचारात्मक कार्यक्रम गरिरहेको छ ।
यस्तै, काठमाडौँ उपत्यकाभित्र समेत पर्चा वितरण लगायतका प्रचारात्मक काम भइरहेको राजमोले जनाएको छ ।