विराटनगर । नेकपा एमाले मोरङमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली इतर समूह विजयी भएको छ ।
एमालेको १० औँ जिल्ला अधिवेशनबाट संस्थापन इतर समूहका अजम्बर राई अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए।
पदाधिकारीमा पनि राई समूहका सबै उम्मेदवार निर्वाचित भएका छन्।
फागुन १७ मा सुरु अधिवेशनमा ९११ प्रतिनिधिमध्ये ८८८ जनाले मतदान गरेका थिए ।
राईको विजयले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली खेमालाई धक्का पुगेको छ। अध्यक्ष ओली, उपाध्यक्ष गुरु बराल, नेता भानुभक्त ढकाल, संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललगातका नेता लागिपर्दासमेत विद्रोही पक्ष हावी भएको हो ।
राई समूह नेता विनोद ढकाल पक्षधर हो । यो समूहलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको धाप रहेको बताइन्छ ।